झापा,चैत ८ । सशस्त्र प्रहरीले अवैध रुपमा नेपाल प्रवेश गरेको एक नाइजेरियन नागरिकसहित दुईजनालाई पक्राउ गरेको छ । झापास्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट तिरिङले बिहीबार बिहान पौने ९ बजे पैदल गस्तीका क्रममा नाइजेरियन नागरिक ३२ वर्षीय अनेकोर सिमोन ओगेचुकु र भारतीय नागरिक ३० वर्षीय सनम राईलाई पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी नायव निरीक्षक केदारराज खड्काको नेतृत्वमा खटिएका टोलीले उनीहरूलाई मेचीनगर नगरपालिका– १ डिल्लीगौडा भन्ने ठाउँबाट पक्राउ गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाले जनाएको छ ।

भारत पश्चिम बङ्गाल दार्जिलिङ जिल्ला मणिग्राम पञ्चायत मारा पुल बस्ने राईले नाइजेरियन नागरिक ओगेचुकुलाई डब्लुबी ७४०७५८ नम्बरको भारतीय मोटरसाइकलमा राखेर अवैध बाटो भएर नेपाल प्रवेश गराउन खोजेका थिए ।

नाइजेरियन नागरिक ओगेचुकुबाट ४ हजार ५ सय भारतीय रुपैयाँ,दुई थान मोबाइल,एक थान एनआइसी एसिया,एक थान नाइजेरियन पासपोर्ट, भिसा र भारतीय नागरिक राईको साथबाट एक थान मोबाइल, भारतीय एटिएम, भारतीय रुपैयाँ १४ हजार ४२० फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।

नाइजेरियन नागरिक ओगेचुकु भारतीय भिसामा २०२२ सेप्टेम्बर २५ तारिख नयाँ दिल्ली आएको रहेछ । उनको भिसा २०२३ सेप्टेम्बर २३ तारिखसम्म मात्र रहेको पाइएको छ । उनीहरूलाई आवश्यक कारबाहीका लागि अध्यागमन कार्यालय काँकडभिट्टा बुझाइसकेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्