झापा,चैत ९ । इलामको सूर्योदय नगरपालिकामा लागु औषध दुर्व्यसनी, मदिरा तथा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमनसम्बन्धी सचेतना अभियान थालिएको छ ।
सूर्योदय नगरपालिकाले नगर क्षेत्रमा सुर्तीजन्य र मदिरा नियन्त्रणका लागि कानुन निर्माण नगरेपछि त्यसको कार्यान्वयनका लागि सचेतना अभियान थालिएको हो । ‘सभ्य, स्वच्छ र समुन्नत समाज हाम्रो सपनाः लागु औषधमुक्त नगर हाम्रो परिकल्पना’ भन्ने मूल नाराका साथ लागु औषध दुर्व्यसनी, मदिरा तथा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन सम्बन्धी सचेतनाको अभियान सुरु गर्दै नगर प्रमुख रणबहादुर राईले सभ्य समाज निर्माणका लागि उक्त अभियान सुरु गरिएको बताए । उनले मानिस स्वस्थ रहे मात्र चलायमान बन्न सक्ने भएकाले स्वस्थ रहनका लागि मद्यपान, धूमपान जस्ता नशालु पदार्थ त्याग्न आग्रह गरे ।

अभियानमा सहभागी भारतको दार्जिलिङ निवासी युथ मोटिभेसनल स्पिकर प्रिमुस भुटियाले युवालाई कुलतमा नफस्न आग्रह गरे । उनले आफ्नो जीवनको महत्त्वपूर्ण समय कुलतमा फसेको सुनाउँदै अहिले कुलतबाट मुक्त भएर त्यही पाठ पढाउँदै हिँडेको बताए । कुलतले मान्छेको जीवनलाई नर्कमा पु¥याउने भन्दै युवा–विद्यार्थीलाई कुलतबाट टाढै रहन आग्रह गरे ।

सूर्योदय नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले नगरमा मदिरा तथा सुर्तीजन्य पदार्थको नियन्त्रण गर्न १४ औँ नगर सभाले ऐन नै पास गरेको जानकारी दिँदै उक्त ऐन कार्यान्वयन हुँदै जाने बताए । उनले स्थानीय मदिरा उत्पादन, प्रयोग र बिक्री वितरणसँगै बजारमा पाइने मदिराको बिक्री वितरण प्रयोगसम्बन्धी ऐन निर्माण गरी नगर सभाले पास गरी सकेको जानकारी दिए ।

नगरमा मदिरा बेच्ने पसलले अनिवार्य सूचीकृत हुनु पर्ने ऐनमा उल्लेख छ । साथै नगरले मदिरा बिक्री गर्ने स्थान, समय तोकेको छ । ऐन लागु भएपछि उक्त ऐन अनुसार हुने नगरले जनाएको छ ।

सूर्योदय नगरपालिका क्षेत्रभित्रका विभिन्न बजार र वडामा आगामी २२ गतेसम्म सञ्चालन हुने उक्त अभियानमा नगरपालिका क्षेत्रभित्रका युवा–विद्यार्थीलाई कुलतबाट बचाई सभ्य, सुसंस्कृत र कर्तव्यनिष्ठ नागरिक बनाउन कार्यक्रमको आयोजना गरिएको नगरका योजना अधिकृत खेम राईले जानकारी दिए । सचेतना अभियान १४ वटै वडामा सञ्चालन गरिनेछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्