झापा,चैत ९ । विश्वमै लोपोन्मुख अवस्थामा पुगेको खरमुजुरको गणना सुरु गरिएको छ । नेपाल पन्छी सङ्घको अगुवाइमा कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा गणना सुरु गरिएको हो ।

घाँसे मैदानमा बस्ने दुर्लभ चराको गणना कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा आठ दिनसम्म गणना गर्ने कार्यक्रम अनुसार शुक्रबार बिहान सप्तरीको गोबरगढाबाट सुरु गरिएको छ । गणनामा ३० जना चरा विज्ञ तथा संरक्षणकर्मीको सहभागिता रहेको कोशीटप्पु वन्यन्तु आरक्ष कार्यालयले जनाएको छ ।

कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयका सूचना अधिकृत विनयकुमार मिश्रका अनुसार लोपमुख खरमुजुर नेपालमा एक सय वटा मात्रै छन् । गत वर्ष कोशीटप्पुमा २४ वटा मात्र खरमुजुरको रेकर्ड गरिएको थियो । खेतबारीमा प्रयोग गर्ने विषादीका कारण मरेका किरा फट्याङ्ग्रा खाएर चराहरुको प्रजनन क्षमता कमजोर हुँदै गएकोले मयुरको सङ्ख्या लोपमुख अवस्थामा पुगेको मिश्रले बताए । उनले भने, “जलवायु परिवर्तनका कारण पनि चराहरुको सङ्ख्यामा कमी हुँदै आएको छ ।” जलवायु परिवर्तनका कारण पछिल्लो समय तापक्रम बढ्नुका साथै उनीहरुको रहसन र वास्थानमा वातावरणीय प्रभाव पर्दा चरा सङ्कटमा परेका हन् ।

संरक्षण क्षेत्र स्थापना गरे पनि खरमुजुरको सङ्ख्या घट्दो छ । बाघभन्दा पनि सङ्कटापन्न अवस्थामा पुगेको यो चरा विश्वमै भारत, क्याम्बोडिया र नेपालमा मात्रै पाइने गरेको चराविद् डा. हेमसागर बरालले जानकारी दिए । उनका अनुसार घाँसे मैदान घट्दै जानु र प्राकृतिक रुपमै भालेको सङ्ख्या बढी र पोथीको सङ्ख्या कम हुँदै जादा लोपोन्मुख खरमयुरको सङ्ख्यामा कमी आएको छ ।

डा. बरालका अनुसार खरमुजुरको सङ्ख्याका हिसाबमा पहिलो भारत, दोस्रो क्याम्बोडिया र तेस्रो नेपाल छ । पहिला बङ्गलादेशमा पनि पाइने गरेको खरमुजुर त्यहाँबाट लोप भइसकेको छ । घाँसे मैदानमा बच्चा कोरल्ने र हिउँदमा सिमक्षेत्रको मैदानमा बस्ने चरा प्राकृतिक र मानवीय विनाशका कारण लोप हुँदै गएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्