झापा, चैत ९ । झापा गोल्डकपका क्रममा प्रयोग भएका विभिन्न सामग्री बिर्तामोड नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।
मोफसलको सर्बाधिक लोकप्रिय झापा गोल्डकपको छैटौ संस्करण बिर्तामोड ३ स्थित डोमालाल राजवंशी रंगशालामा गत फागुन १९ देखि २८ गतेसम्म भव्य रुपमा सम्पन्न भएको थियो ।
गोल्डकप संचालनका क्रममा बिर्तामोड नगरक्षेत्रमा प्रयोग गरिएका विद्युतीय उपकरण, फोहोर फाल्न प्रयोग गरिने डस्टविन र सजावटका लागि प्रयोगमा ल्याइएका फूलसहितका गमला नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।
झापा गोल्डकपका अध्यक्ष बिनोद बस्नेतले नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला र प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडालाई झापा गोल्डकपले प्रयोगमा ल्याएको सामग्री हस्तान्तरण गरेका हुन् ।
शुक्रवार नगरपालिका कार्यालय पुगेर झापा गोल्डकपका अध्यक्ष बस्नेत, महासचिव गजेन्द्र पौडेल, किरण श्रेष्ठसहितको टोलीले मुक्तिचोकदेखि रंगशालासम्मको सडकमा २२५ वटा पोलमा जडान गरिएका विद्युतीय लाइटसहित ८० वटा डस्टविन , फूलसहितको ५५ वटा गमला नगरपालिकालाई हस्तान्तरण गरिएको थियो ।
भौतिक सम्पत्तिको संरक्षण र सुरक्षा गर्न अध्यक्ष बस्नेतले उपप्रमुख संग्रौलालाई आग्रह गरे । झापाली फुटबलप्रेमी दर्शकको अपार माया र सद्भावसहित सम्पन्न झापा गोल्डकपले बिर्तामोड नगरपालिकालाई मात्र नभई समग्र झापा जिल्लालाई नै चिनाएको भन्दै उनले डोमालाल राजवंशी रंगशालाको संरक्षण र सम्वद्र्धन गर्ने दायित्व नगरपालिकाको भएको बताए ।
झापा गोल्डकपले प्रदान गरेका सामग्री ग्रहण गर्दै उपप्रमुख संग्रौलाले ती सामग्रीको संरक्षण अब नगरपालिकाले गर्ने बताए । उनले नगरका विभिन्न क्षेत्रमा आवश्यकताका आधारमा उक्त सामग्रीहरुलाई प्रयोगमा ल्याइने प्रतिवद्धतासमेत जनाएका छन् ।