विनोद सापकोटा,
शिवसताक्षी, चैत १० । झापाको शिवसताक्षीमा कोशी प्रदेशस्तरीय स्व. नविन राई स्मृति भेट्रान कप फुटबल प्रतियोगिता हुने भएको छ ।

दोस्रो संस्करणको यो प्रतियोगिता चैत १५ देखि २२ गतेसम्म हुने आयोजक समितिले जनाएको छ ।
झिलझिले भेट्रान फुटबल क्लबले शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको हो । शिवसताक्षी नगरपालिका वडा नम्बर ११ को झिलझिलेस्थित गणेशमान सिंह अध्ययन प्रतिष्ठानको खेलमैदानमा आयोजना हुने सो प्रतियोगितामा कोशी प्रदेशका १० वटा टिमले सहभागिता जनाउने आयोजक समितिले जनाएको छ ।
आयोजक समितिका संयोजक जसु राईका अनुसार कोशी प्रदेशका झापा, मोरङ र सुनसरीका १० वटा उत्कृष्ट भेट्रान टिमले प्रतियोगितामा सहभागिता जनाउनेछन् ।

आयोजक समितिका अनुसार आयोजकले दुईवटा टिम प्रतियोगितामा सहभागिताका लागि तयार गरेको छ । सुनसरीको रामधुनी, झापाको बिर्तामोड, चन्द्रगढीको सिविसी, झापाको धुलाबारी, हाम्रो भेट्रान धरान, दमक लखनपुर भेट्रान क्लब, आयोजक निलो, पूर्वेली भेट्रान बिर्तामोड र एभरेष्ट भेट्रान मोरङले सहभागिता जनाउनेछन् ।

विजेताले नगद ७१ हजार र उपविजेताले नगद ४१ हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र पाउने आर्थिक समितिका संयोजक सन्तोष थेगिमले जानकारी दिए । उनका अनुसार आयोजकले प्रतियोगिता सम्पन्न गर्न ५ लाख ७० हजार खर्च हुने अनुमान गरेको छ । आयोजक समितिका मुकुम मेन्याङवोले प्रतियोगिता सफल बनाउन उद्योगी व्यवसायी, पेशाकर्मी ,खेलप्रेमीलगायतलाई हरतरहको सहयोग गर्न आव्हान गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्