झापा,चैत १० । अलैँचीको मूल्य निर्धारण बिचौलियाको हातमा रहेको भन्दै किसानहरूले नियमन गर्न माग गरेका छन् । बिचौलियाले किसानले विक्री गर्ने समयमा कम मूल्य बनाएर खरिद गर्ने र बढी मूल्य बनाएर विक्री गर्ने गरेको पाइएको हो ।

प्रतिमन ७० हजार सम्ममा विक्री गरेको अलैँची हाल बिचौलियाले ८६ हजार भन्दा बढीमा मूल्य निर्धारण गरेका छन् । अलैँचीको गुणस्तर र सामाग्री उही भए पनि मूल्य मात्र घटबढ गर्ने गरेपछि यसको नियमन गर्न किसानले माग गरेका छन् ।

पहाडी जिल्लाका किसानको प्रमुख आय स्रोतका रूपमा स्थापित अलैँचीको मूल्य शनिवार प्रतिमन ८६ हजार रुपियाँ पुगेको छ । किसानले बेचिसकेपछि अलैँचीको मूल्य आकासिएर प्रतिमन ८६ हजार (प्रतिकिलो दुई हजार एक सय पचास ) रुपियाँ पुगेको हो ।
शनिवार झापाको बिर्तामोडमा प्रतिमन ८६ र पाँचथरको फिदिममा ८५ हजार रुपियाँमा किनबेच भएको फिदिमका अलैँची व्यवसायी खेमनाथ अधिकारीले बताए ।
फिदिममा अलैँचीको मूल्य प्रतिमन ८५ हजार रुपियाँ पुगेको यो वर्ष पहिलो पटक हो ।

मूल्य बढे पनि अलैँची उत्पादक किसान स्वयम् यो मूल्य पाउनबाट वञ्चित भएका छन् । सिजन सकिएसँगै किसानको अलैँची भण्डार पनि रित्तिएकाले बढेको मूल्यबाट व्यवसायीलाई भने केही राहत भएको छ ।

पाँचथरको फालेलुङ ३ का किसान बिरबल लिम्बूका अनुसार अलैँचीको सिजन सामान्यतया भदौ देखि सुरु भएर मंसिर पहिलो साता सम्म हो । किसानले प्रशोधन गरेको अलैँची भदौ देखि माघ महिना भित्रै बिक्री गरिसक्ने भएकाले यो बेला बढेको मूल्य सङ्कलक र व्यापारीले मात्रै भेट्छन् ।
‘यो वर्ष पनि बेसिजनमा मूल्य बढेकाले किसानलाई भन्दा धेरै फाइदा व्यवसायी र सङ्कलकलाई नै भयो ।’ लिम्बूले भने ।
व्यवसायीहरूका अनुसार अलैँचीलाई गुणस्तरका आधारमा क,ख र ग गरी तीन तहमा विभाजन गरिएको हुन्छ ।

व्यवसायी अधिकारीका अनुसार अलैँचीलाई गुणस्तरका आधारमा क,ख र ग श्रेणीमा विभाजन गरिएको छ । शनिवार फिदिममा उत्कृष्ट (क) श्रेणीको ८५ ,मध्यम (ख) श्रेणीको ८४ र सामान्य (ग) श्रेणीको अलैँची प्रतिमन ८३ हजारमा किनबेच भएको हो ।

यस्तै बिर्तामोडमा क श्रेणीको ८६,ख श्रेणीको ८५ र ग श्रेणीको ८४ हजार रुपियाँ प्रतिमनका दरले किनबेच भएको छ ।नेपालमा उत्पादन भएको अलैंंचीको बजार भारत हो । पूर्वी नेपालमा उत्पादन भएको अलैँची झापाको बिर्तामोड हुँदै भारत छिर्छ । त्यसपछि भारतले तेस्रो मुलुक निर्यात गर्दै आएको छ ।
अलैँचीको मूल्य अन्तर्राष्ट्रिय बजारबाटै निर्धारण भएर आउने गरेकाले त्यसको लाभ किसानले लिन नसकेका हुन् । विशेष गरी पूर्वी पहाडका ताप्लेजुङ,पाँचथर,इलाम र संखुवासभाका कृषकको प्रमुख आय स्रोत नै अलैँची हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्