मेचीनगर,चैत १० । बेलाबखत लिएको तालिमबाट प्राप्त सीपलाई व्यवहारमा उतारेपछि मेचीनगर—८ की लक्ष्मी धिमालमा आत्मनिर्भरता मात्र बढाएको छैन,उत्तिकै आत्मसम्मान पनि छ ।

मेचीनगर नगरपालिका महिला तथा बालबालिका शाखाका अनुसार स्थानीय सरकारी र गैरसरकारी क्षेत्रबाट सिलाई कटाई, प्लाष्टिकको झोला बनाउने, मकैको खोसेलाबाट विभिन्न फूल बनाउने, दुबोको माला बनाउने, परालको जुत्ता चप्पल बनाउनेजस्ता तालिम वर्षेनि नगरका एकसयभन्दा बढी महिलाले लिने गरेका छन् ।

कपडा तथा रेग्जिनका झोला बनाउने आधारभूत तालिम एक महिने र ‘एडभान्स’ तालिम १५ दिन लिएपछि अहिले धिमालले गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत मेचीनगर नगरपालिकाको प्राविधिक सहयोगमा ‘लिजा एण्ड एमी व्याग झोला लघु उद्यम ’ नै सञ्चालन गरेकी छन् । जहाँ कपडा तथा रेग्जिनका झोला तयार गरिन्छ । यो उद्योग सञ्चालनमा ल्याएदेखि उनीमा आत्मनिर्भर मात्र होईन, आत्मसम्मान पनि बढेको छ । धिमाल त एक उदाहरणीय पात्र मात्रै हुन् । नगरपालिकाले सञ्चालन गरेको विभिन्न सीपमुलक तालिम प्राप्त गर्ने अधिकांशले रोजगारी पाएका छन् भने केहीले आफै उद्यम संचालन गरेका छन् ।

आफै उद्यम संचालन गर्ने सोचका साथ धिमालले घरदेखि थोरै टाढा लिजा एण्ड एमी कपडा तथा रेग्जिनका झोला बनाउने सिलाई कटाई पसलको स्थापना गरेकी छन् । वार्षिक दश हजार रुपैयाँ घरभाडा तिर्ने गर्छिन् । ४५ हजार रुपैयाँबाट शुरु गरेको व्यवसाय अहिले करिव ८० हजार रुपैयाँमा पुगेको छ । सीपमुलक तालिमपछि आफ्नै खुट्टामा उभिन सफल भएको उनी बताउँछिन् । एउटा आत्मनिर्भर व्यवसायका लागि सीप सिक्न सिलाई कटाई तालिममा गरेको मेहनतले लक्ष्मीलाई उत्कृष्ट प्रशिक्षक र सक्षम व्यवसायी बनाएको छ । उनी अहिले करिव ५ जना प्रशिक्षार्थीलाई कपडा तथा रेग्जिनका झोला बनाउने सीप सिकाउँछिन् । जसले उनलाई आर्थिकरुपमा सहयोग पुगेको छ । उनको पसलमा कपडा तथा रेग्जिनका झोला तयार गरिनुका साथै सिलाई कटाई सम्बन्धी सवै काम गरिन्छ ।

जसलाई साँच्चिकै आवश्यकता हुन्छ तिनीहरूले तालिमपछि व्यवसाय गरेको मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेतीको भनाई छ । महिलालाई आत्मनिर्भर तथा महिला सशक्तिकरण गर्न चेतनाको विकास गराउँदै व्यापक रुपमा तालिमको आवश्यकता महसुस गरी स्थानीय सरकारले व्यवसायिक रुपमा लाग्ने गरी बेलाबखत तालिम सञ्चालन गर्ने गरेको उपप्रमुख उप्रेतीले बताइन् । सहज जीवनयापनका लागि सीप महत्वपूर्ण रहेको भन्दै सीप सिकेर व्यवसायिक बन्न महिलाहरुलाई उपप्रमुख उप्रेतीले आग्रह गरेकी छन् ।

महिलाहरुलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन सीप तथा तालिम प्रदान गर्नुका साथै यस्ता सीप तथा तालिमले उनीहरुलाई स्वरोजगार बन्ने बाटो समेत खुल्ने नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको भनाई छ । उनले कृषि, पर्यटन, धार्मिक तथा साँस्कृतिक क्षेत्रको विकास गरी रोजगारीको सिर्जना गर्ने दिशातर्फ स्थानीय नगर सरकार अघि बढेको जानकारी दिए । सिलाई कटाईलगायत अन्य तालिमले घरको चुलो चौकोमा सीमित रहेका महिलाहरुलाई व्यवसाय नै सञ्चालन गरी आर्थिक रुपमा सबल र सक्षम बनाउन महत्वपूर्ण टेवा पुग्ने उनले विश्वास व्यक्त गरे ।

‘हामीले तालिम दिएका धेरैले रोजगारी पाएका छन्, केहीले त आफ्नै व्यवसाय शुरु गरेको पाइएको छ’ कपडाको झोला बनाउने तालिमकी प्रशिक्षक एवम् उद्यम विकास सहजकर्ता गंगा सोरेनले भनिन् ‘हामीले तालिम दिएका प्रशिक्षार्थीहरुले दुईचार पैसाका लागि अर्काको मुख ताक्नु नपरेको र आत्मनिर्भरसहित आत्मसम्मान बढाउन सहयोग पुगेको छ, यो उहाँहरुले गरेको कामबाट पुष्टी भएको छ ।’

नगरपालिकाले एकल महिला, दलित, पिछडिएको वर्ग र एकल महिलालाई प्राथमिकतामा राखेर सीपमुलक तालिम दिने गरेको छ । विभिन्न प्रकारका सीपमुलक तालिम दिएर नगरभित्रका युवतीहरुलाई आत्मनिर्भरको बाटोमा हिडाएको नगरपालिकाको दाबी छ । सिलाई कटाई तालिमबाट विशेष गरी महिलाहरु बढी लाभान्वित भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्