भद्रपुर, चैत १० । झापाको भद्रपुर ३ को पृथ्वीनगरस्थित देउनिया किनारमा रहेको ऐतिहासिक तथा धार्मिकस्थल किचकबधको ऐतिहासिकता प्रमाणित गर्न पुरातत्व विभागको टोलीले पुनः उत्खनन् सुरु गरेको छ ।


यसअघि २०५८ सालदेखि पहिलो पटक उत्खनन् गरेको पुरातत्व विभागको टोलीले ६ पटकसम्म उत्खनन् गरिसकेको छ । यसपटकको उत्खनन् सातौं भएको उत्खननको नेतृत्व गरिरहेका पुरातत्वविद उद्धब आचार्यले बताए ।

यसअघिका उत्खनन्बाट फेला परेका पुरातात्विक सामग्रीहरुको बैज्ञानिक परीक्षणमा यो स्थलको ऐतिहासिकता करिब २२ सय बर्ष पुरानो भएको पाइएको छ । पुरातत्वविद आचार्यले किचकबधको ऐतिहासिकता इसापूर्व १ सय २० देखि २ सय बर्षसम्मको रहेको परीक्षणबाट पुष्टि भएको बताए । अर्थात भारतमा शुँग कुषाण काल चलेको समयमा यसस्थलमा पनि कुनै शासकको दरबार र किल्ला रहेको अनुमान गर्न सकिने भएको छ ।

यो संरचना इसाको पाँचौं शताव्दिसम्म कायम रहेको अर्थात भारतको गुप्तकालसम्म कायम रहेको र त्यो समयमा यस क्षेत्रमा आएको ठूलो भुकम्पले यो स्थल ध्वस्त भएको फ्रेन्च भूगर्भविदको अध्ययनले देखाएको पुरातत्वविद आचार्यको भनाई छ ।
उनले यसपटक उत्खनन् उत्तरपूर्वी कुनाको पहिला मन्दिर रहेको क्षेत्रमा भइरहेको जनाउँदै यसभन्दा पश्चिम जान अहिले भइरहेको हल जस्तो संरचना भत्काउनु पर्नेमा अहिलेसम्म नभत्काईंंदा समस्या भएको बताए ।
उनले पहिले उत्खनन् गरेर संरक्षित गरेका स्थानमा पनि मान्छेले टेकेर हिँडन नहुनेमा हिँडेर भत्काउने गरेको र त्यसलाई संरक्षण समितिले सुरक्षित राख्न ध्यान दिएमात्र यसको ऐतिहासिकता सुरक्षित रहने बताए ।

पुरातत्व विभागका अधिकृत नवराज अधिकारीले यसपटक यही चैत २ गतेबाट सुरु भएको उत्खनन् १८ गतेसम्म चल्ने र समय मिले संरक्षित गरेर जाने बताउँदै बाँकी काम पुरातत्व विभागले सक्ने गरी अर्को बर्ष बजेट दिएमा सकिने र संरक्षित गरिने स्पष्ट पारे ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्