झापा, चैत १३ गते । आयरल्यान्ड ‘ए’ विरुद्धको टी–२० सिरिज नेपालले जितेको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मङ्गलबार भएको दोस्रो खेलमा आयरल्यान्डलाई ७१ रनले हराउँदै नेपाल च्याम्पियन बनेको हो ।

दुई खेलको सिरिज नेपालले २–० ले ‘क्लिन स्वीप’ गरेको छ । सिरिजको पहिलो खेलमा नेपालले आयरल्यान्डलाई सोमबार ६ विकेटले हराएको थियो । जितका लागि एक सय ९९ रनको लक्ष्य पछ्याएको आयरल्यान्ड १८.३ ओभरमा सबै विकेटको क्षतिमा एक सय २७ रनमा समेटिएको थियो ।

आयरल्यान्डका लागि स्टेफेन डुहेनीले २६ रन बनाएका थिए ।यस्तै मोर्गन टोपिङले २१, काडे कार्माइकलले १८, कप्तान नेल रक र रोस अडिरले १७÷१७ तथा ग्रेथ डेलानीले १५ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

आयरल्यान्डलाई सस्तैमा समेट्न बलिङमा नेपालका कुशल मल्ल र सोमपाल कामीले तीन तीन विकेट लिए । यस्तै करण केसी, कुशल भुर्तेल र विवेक यादवले एक एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ९८ रन बनाएको थियो । नेपालका लागि बायाँ हाते ब्याटर गुलशन झाले ३२ बलमा एक चौका र चार छक्काको सहयोगमा सर्वाधिक ४६ रन बनाए ।

कुशल मल्लले ३४, कप्तान रोहित पौडेलले ३३, कुशल भुर्तेलले २५, सन्दीप जोराले २१,अनिल शाहले १२, आसिफ शेखले ११ र विवेक यादवले अविजित सात रन बनाए । बलिङमा आयरल्यान्डका म्याथ्यु फस्टरले तीन विकेट लिए । बेन ह्वाइटले दुई तथा फिन ह्यान्ड र गेभिन होईले एक एक विकेट झारे ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्