अस्थायी चौकी र बीटका कारण जनशक्ति परिचालनमा समस्या

लक्ष्मी उप्रेती,
मेचीनगर । झापामा दरबन्दी अनुसारका सुरक्षाकर्मी (जनशक्ति) नहुँदा समस्या व्यहोरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले अस्थायी प्रहरी चौकीका कारण पनि थप मार खेप्न बाध्य हुनु परेको छ ।

अस्थायी प्रहरी चौकीमा दरबन्दी नहुने र स्थायी जनशक्ति नै परिचालन गर्नुपर्ने भएकाले मार खेप्न बाध्य हुनु परेको हो ।
जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार जिल्लामा कुल १ हजार २ सय ९९ जना सुरक्षाकर्मीको स्थायी दरबन्दी छ । तर, १ हजार २ सय १५ जनामात्र कार्यरत रहेका छन् । यी स्थायी जनशक्तिलाई नै अस्थायी प्रहरी पोष्टमा समेत खटाउनु पर्दा इलाका प्रहरी कार्यालयमा जनशक्ति अभाव हुने गरेको छ । जसका कारण प्रहरी कार्यालयले मात्र होईन, सर्वसाधारणले समेत भनेकै समयमा प्रहरीको सेवा पाउन सकिरहेका छैनन् ।

जिल्लामा कचनकवल गाउँपालिका—१मा कुटी अस्थायी प्रहरी चौकी, दमक नगरपालिका—१ मा फाल्गुनन्द अस्थायी प्रहरी पोष्ट, दमक नगरपालिका—४ मा ताराबारी अस्थायी प्रहरी पोष्ट, विर्तामोड नगरपालिका—७ मा गरामनी अस्थायी प्रहरी चौकी, बिर्तामोड नगरपालिका—६ मा बुट्टावारी अस्थायी प्रहरी पोष्ट, बिर्तामोड—१० मा सैनिक बजार अस्थायी प्रहरी बीट, अर्जुनधारा—११ मा बसपार्क अस्थायी प्रहरी पोष्ट, अर्जुनधारा—९ मा सालवारी अस्थायी प्रहरी पोष्ट, कन्काई—७ मा दुर्गापुर अस्थायी प्रहरी बीट, मेचीनगर—२ मा भृकुटी अस्थायी प्रहरी पोष्ट, मेचीनगर—७ मा इटाभट्टा अस्थायी प्रहरी पोष्ट, गौरादह नगरपालिकामा बैगुनधुरा अस्थायी प्रहरी चौकी, अर्जुनधारा—२ मा खुदुनावारी अस्थायी प्रहरी पोष्ट, शिवसताक्षँी नगरपालिकाको माईधार अस्थायी प्रहरी पोष्ट, गौरादह नगरपालिका—७ मा जुरोपानी अस्थायी प्रहरी चौकीसहित जिल्लामा अस्थायी चौकी र पोष्ट गरी कुल १५ वटा रहेका छन् ।

तर, ती सबै पोष्ट र चौकीमा कार्यरत सुरक्षाकर्मीको व्यवस्थापन जिल्ला प्रहरी कार्यालयले आफै गर्नुपर्छ । एउटा अस्थायी चौकी वा पोष्टमा ४ देखि ७ जनासम्म कार्यरत छन् । जिल्लाभरि रहेका अस्थायी चौकी वा पोष्टमा करिब एकसय जना सुरक्षाकर्मी कार्यरत रहेको कार्यालयको भनाई छ । सरकारले ती अस्थायी प्रहरी चौकी र पोष्टलाई स्थायी गर्नेबित्तिकै एकजना खाना बनाउने (भान्से) सहित प्रहरी सहायक निरीक्षकको कमाण्डमा १४ जना सुरक्षाकर्मीको स्थायी दरबन्दी हुन्छ ।

‘अब पोष्ट र चौकी निर्माण गरेपछि सुरक्षाकर्मी राख्नै पर्छ’ एकजना प्रहरी अधिकृतले भने,‘अस्थायीमा स्थायी जनशक्तिको दरबन्दी नभएपछि अन्य युनिटबाट स्थायी जनशक्ति पठाउनुपर्छ, यसो गर्दा जुन युनिटबाट जनशक्ति पठाईन्छ त्यहाँ जनशक्ति कम हुन्छ ।’ जसले गर्दा त्यस मातहतको क्षेत्रमा कहिकतै अपराधलगायत अन्य घटना भए पर्याप्तरुपमा प्रहरी पुग्न सक्दैन । अस्थायी प्रहरी चौकी र पोष्टमा समेत पर्याप्त जनशक्ति छैनन् । जसका कारण त्यहाँ कार्यरत सुरक्षाकर्मीलाई स्थानीयवासीको अपेक्षा अनुसार शान्ति सुरक्षा प्रदान गर्न नसकेको बताइएको छ । ‘अब सरकारले यी जिल्लाका १५ वटा प्रहरी बीट र चौकीलाई स्थायी संरचनामा परिणत गर्नु पर्यो नत्र यो समस्या ज्यूँ का त्यू रहन्छ’ एकजना प्रहरी अधिकृतले भने ।

जिल्लामा इलाका प्रहरी कार्यालय काँकरभिट्टा, बिर्तामोड र दमकमा प्रहरी नायव उपरीक्षक (डिएसपी) को दरबन्दी छ । यसैगरी, १२ वटा इलाका प्रहरी कार्यालयमा प्रहरी नायव निरीक्षक (सई)को कमाण्ड र ३० वटा प्रहरी चौकीमा प्रहरी सहायक निरीक्षक (असई) को नेतृत्व हुन्छ । जिल्लामा प्रहरी नायव उपरीक्षक र प्रहरी निरीक्षक (इन्स्पेक्टर) को दरबन्दी रहेको धुलावारी, झिलझिले र गौरीगञ्ज इलाका प्रहरी कार्यालयले मात्र मुद्धा चलाउन सक्ने एकजना प्रहरी अधिकृतले बताए । भद्रपुरको वडा प्रहरी कार्यालयमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) को दरबन्दी भएपनि त्यहाँ मुद्धा दर्ता हँुदैन र त्यहाँको मुद्धा जिल्ला प्रहरी कार्यालय झापाले हेर्ने गरेको ती प्रहरी अधिकृतले बताए ।

जिल्लामा कार्यरत सुरक्षाकर्मीको संख्या र झापाको जनसंख्या हेर्दा करिब ८ सय १८ जना मानिसको शान्ति सुरक्षाको जिम्मा एकजना सुरक्षाकर्मीको काँधमा छ । २०७८ सालको जनगणना अनुसार झापाको जनसंख्या ९ लाख ९४ हजार ९० पुगेको छ । जुन कूल जनसंख्याको ३ दशमलव ४१ प्रतिशत हो । जिल्लाको कूल जनसंख्यामा पुरुषको संख्या ४ लाख ७७ हजार ४ सय ९६ र महिलाको संख्या ५ लाख १६ हजार ५ सय ९४ रहेको छ । यसबाट ३९ हजार ९८ जना महिला बढी रहेको देखिन्छ । जिल्लाको जनसंख्या बृद्धिदर १ दशमलव ९३ प्रतिशत रहेको छ । त्यस्तै औसत परिवार संख्या ४ दशमलव शुन्य ४ रहेको छ । ०६८ को जनगणनामा झापाको जनसंख्या ८ लाख १२ हजार ६ सय ५० रहेको थियो । हाल जिल्लामा कार्यरत सुरक्षाकर्मीको संख्या १ हजार २ सय १५ मात्र छ ।

केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको नेपालको जनगणना–२०७८ को नतिजाले जनसंख्याको हिसाबले झापा देशकै चौथो जिल्लाको रुपमा देखिएको छ । केन्द्रीय तथ्यांकले नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको तथ्यांक सार्वजनिक गरेको थियो । जसमा सबैभन्दा धेरै जनसंख्या भएको पाँच जिल्लामा काठमाण्डौं पहिलो रहेको छ । त्यसपछि दोस्रोमा मोरङ , तेस्रोमा रुपन्देही, चौथोमा झापा र पाँचौमा सुनसरी रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्