बिर्तामोड,चैत १३ । इलाका प्रहरी कार्यालय बिर्तामोडको कमाण्ड करिव १४ महिना सम्हालिरहँदा डीएसपी सुरज कार्कीले कुनै पनि विवादमा मुछिनु परेन ।

सरल र स्वच्छ छवि भएकै कारण विदाई भएर जान लागेका डीएसपी कार्कीलाई यतिबेला धेरै संघ संस्थाहरुले स्वतःस्फूर्त रुपमा विदाई गरिरहेका छन् । आजमात्र डीएसपी कार्कीलाई करिव ५० वटा संघ संस्थाले विदाई गरेका छन् ।यसक्रममा कार्कीलाई बिर्तामोड उद्योग वाणिज्य संघसहित चार दर्जनभन्दा धेरै संघ संस्थाले सामूहिक विदाई गरेका छन् ।
अपराध न्यूनीकरण र समाजमा शान्ति सुव्यवस्था कायम गर्न सफल भएको भन्दै कार्कीलाई जिल्लाका चार दर्जनभन्दा धेरै संघ संस्थाले एकसाथ सम्मानसहित बिदाई गरेका हुन् ।

बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीको अध्यक्षतामा आज आयोजित कार्यक्रमकाबीच प्रहरी नायव उपरीक्षक कार्कीलाई सम्मानसहित बिदाई गरिएको थियो ।
सम्मानित कार्कीको सम्मानपत्र महिला उद्यमी पार्बता विमली खरेलले वाचन गरेकी थिइन् । बिर्तामोड उद्योग वाणिज्य संघका पूर्ब अध्यक्ष बलराम कार्कीले स्वागत गरेको कार्यक्रममा नेपाली कांग्रेस बिर्तामोड नगर सभापति भोजराज सिटौला, झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेत, वीरता लेडी जेसीजकी पूर्व अध्यक्ष संगीता गिरी, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीलगायतले शुभकामना मन्तव्य राखेका थिए । बिर्तामोड उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष राजु न्यौपानेसहित संघका पदाधिकारीको उपस्थितिमा भएको कार्यक्रमको सञ्चालन संघका नवनिर्वाचित महासचिव कुशल खतिवडाले गरेका थिए ।


यसअघि लायन्स क्लव अफ कनकाई सुरुङ्गाको आयोजनामा प्रहरी नायव उपरीक्षक कार्कीलाई विदाई गरिएको थियो । कार्यक्रममा लायन्स क्लब अफ कनकाई सुरुङ्गाका संस्थापक अध्यक्ष तथा लायन्सका क्याविनेट सेक्रेटरी लीलाप्रसाद चिमरिया, लायन्सका पूर्व अध्यक्ष रुपनारायण खतिवडा, सुरेन्द्र प्रधान, साजन थापा, मनोज बस्नेत, पत्रकार महासंघ कोशीका कार्यसमिति सदस्य लीलाराज झापाली, इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी बरिष्ठ नायव निरीक्षक प्रविण भट्टराई, सुरुङ्गा ट्राफिक प्रहरी कार्यालय प्रमुख टंकप्रसाद दाहाललगायतले विदाई गरेका थिए ।
लायन्सका तर्फबाट क्याविनेट सेक्रेटरी लीला चिमरियाले कार्कीलाई नेपाली टोपी , खादा, माला र मायाको चिनो प्रदान गरेका थिए ।
कार्यक्रमको सञ्चालन लायन्सका पूर्व अध्यक्ष तथा प्रेस क्लव कनकाई सुरुङ्गाका सचिव मनोज बस्नेतले गरेका थिए ।त्यस्तै प्रहरी नायब उपरीक्षक कार्कीलाई बिर्ताबजार प्रहरी चौकी व्यवस्थापन समितिले विदाई गरेको छ । समितिका अध्यक्ष विरनकुमार कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड ३ का वडाध्यक्ष मदनकुमार बुढाथोकी ,कांग्रेसका नगर सभापति भोजराज सिटौलालगायतले विदाईसहित उत्तरोतर प्रगतिको शुभकामना दिएका थिए । त्यस्तै कार्की समाजले पनि आज बिर्तामोडमा प्रहरी नायव उपरीक्षक कार्कीलाई विदाई गरेको छ । विदाई गर्ने सबैले प्रहरी उपरीक्षकको रुपमा फेरि झापा आउन कार्कीलाई शुभकामना दिएका छन् ।

कार्की १४ महिनाअघि इलाका प्रहरी कार्यालय बिर्तामोडको नेतृत्व सम्हाल्न आएका थिए । उनी हालै जिल्ला प्रहरी कार्यालय नुवाकोट सरुवा भएका छन् । उनले २०७९ माघ २६ गतेबाट इलाका प्रहरी कार्यालय बिर्तामोडको नेतृत्व सम्हालेका थिए । १४ महिना बिर्तामोडको नेतृत्व सम्हाल्दा उनले अपराध नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गरे ।स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी, विभिन्न राजनीतिक दलका नेता, विभिन्न संघ–संस्था, उद्योगी, ब्यवसायी तथा स्थानीयसंगको समन्वयमा इलाका प्रहरी कार्यालय बिर्तामोडको क्षेत्रभित्र अपराध नियन्त्रणमा उनी सफल देखिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्