लक्ष्मी उप्रेती,

मेचीनगर,चैत १४ । सुख्खायाम शुरु भएसँगै देशका विभिन्न ठाउँमा आगलागीका घटना बढेका छन् ।

लामो समयको खडेरी र हावाहुरीलगायतका कारण आगलागीका घटना बढ्दै गएका हुन् । झापा जिल्लामा चालु आर्थिक २०८०–०८१ को आठ महिनामा ३ सय ४९ दशमलव ५ हेक्टर वनमा डढेलो लागेको छ । सामुदायिक वनमा लागेको डढेलोका कारण वर्षेनि वनक्षेत्रमा ठूलो क्षति हुने गरेको छ । वनमा आगलागी हुँदा साना बिरुवासंगै ठूला रुखलाई समेत असर पुग्ने गरेको छ ।

डिभिजन वन कार्यालय झापाका अनुसार जिल्लाका २७ वटा सामुदायिक वनमा यो अवधिमा आगलागी भएको छ । गर्मीसँगै हावाहुरी चल्ने हुँदा आगो उडाएर घर तथा वन क्षेत्रमा डढेलो लाग्ने गरेको कार्यालयका सूचना अधिकारी अञ्जना पुरीले जानकारी दिइन् । उनका अनुसार माघ, फागुन, चैत तथा बैशाख महिनामा गर्मीयाम शुरु भएसँगै जिल्लाको सयौं हेक्टर वन क्षेत्रमा आगलागी हुने गरेको छ ।

यसरी वनमा लागेको आगलागीका कारण आसपासका बस्तीसमेत जोखिममा पर्ने गरेका छन् । ‘डढेलोबाट साना बिरुवा,पातपतिङ्गर, चराचुरुङ्गी एवम् विभिन्न जडीबुटी पूर्णरूपमा नष्ट हुने गर्छ ’ सूचना अधिकारी पुरीले भनिन् ‘डढेलोबाट कतिपय जङ्गली जनावरको मृत्यु भएको छ भने कतिपयले बासस्थान परिवर्तन गर्नुपरेको छ । ’डढेलोका कारण साना बिरुवा जलेर नष्ट भए पनि ठूला रुखलाई सामान्य असर पार्ने गरेको वन अधिकारीहरु बताउँछन् । ‘वनमा आगलागी हुँदा साना तथा ठूला सयौँ रुखबिरुवा जलेर नष्ट हुन्छन् ’ वन अधिकारी भन्छन्,‘वनमा जाँदा सावधानी नअपनाएकै कारण वन क्षेत्र आगलागीको चपेटामा परिरहेका छन् । वनमा जथाभावी डढेलो लगाउँदा वन्यजन्तु, जनावर, जनावरको बासस्थान र कलिला बोट बिरुवालगायत जलेर नष्ट भएको डिभिजन वन कार्यालय झापाले जनाएको छ । डढेलोले वनमा पारेको दीर्घकालीन असर, डढेलोपछिको माटोको गुणस्तर, क्षमता, बोटविरुवा, जंगली जनावर तथा चराचुरुङ्गीमा परेको असर आदिका बारेमा सवैलाई चेतना दिन सक्नुपर्ने वातावरणविद सुमन केसीको भनाई छ ।

सामुदायिक वनमा लागेको डढेलो (रुखको जरा, हाँगा र टुप्पोसम्म सखाप पार्ने गरी लाग्ने आगो) ले अकल्पनीय क्षति पुग्ने गरेको एकजना सामुदायिक वनका पदाधिकारी बताउँछन् । डढेलोले प्राकृतिक प्रणाली र माटोको गुणस्तरमा ह्रास ल्याउने हुँदा यहाँको वन्यजन्तु, वनस्पतिलगायत समग्र जैविक विविधता नै संकटमा पर्ने गर्छ । डिभिजन वन कार्यालय झापाका सूचना अधिकारी पुरीले आगलागी हुँदा साल,टिकलगायत प्रजातिका सयौँ साना बिरुवा जलेर नष्ट हुने गरेको बताइन् । उनका अनुसार डढेलो लागेको ठाउँमा तत्कालै वृक्षरोपण गरिने र कतिपय ठाउँमा आफै बिरुवा उम्रने गर्छ ।

वनमा लागेको आगो नियन्त्रणमा समयमै नेपाली सैनिक, प्रहरी तथा स्थानीय बासिन्दाको सहयोगका कारण ठूलो क्षति हुनबाट जोगिने कालिका सामुायिक वन मेचीनगर ११÷१२ का अध्यक्ष योगेश भट्टराईले जानकारी दिए । नेपाल प्रहरी, नेपाली सेना, स्थानीयवासी तथा वन कार्यालयका कर्मचारीको सहयोगले नै आगलागी नियन्त्रण सम्भव हुने वनको भनाई छ । गत वर्ष उक्त वनको डेढ हेक्टर क्षेत्रफलमा आगलागी हुँदा ठूला साना सयौं रुख र बिरुवा जलेर नष्ट भएका थिए । वनमा लागेको डढेलोका कारण हुने वायु प्रदूषणले संकट निम्त्याउने वातावरणविद योगेशराज पन्तको भनाई छ । गैरमानव जीवनमा डढेलोले पुर्याएको क्षति निकै हुने उनको भनाई छ ।

समयमा पानी नपर्नु ,मानिसको हेलचेक्रयाइँ, मानिसले व्यक्तिगत जग्गामा पातपतिङ्गर पोलेर छाड्ने वा सडक बढारेको फोहर नालीमा फालेर आगो लगाउनेलगायतका कारण सुख्खायाममा धेरै आगलागी हुने गरेको छ । त्यस्तै जनचेतना र प्रचारप्रसारको कमी हुँदा वनमा धेरै आगलागी भएको छ । स्याउला र सोतर लिन वनमा गएकाको लापरवाहीले पनि आगलागी हुन सक्ने बताइन्छ ।

वनमा आगो लगाउनेलाई कारबाहीको दायरामा ल्याउने गरिएको एकजना सुरक्षाकर्मीको भनाई छ । तर, यो अवधिमा वनमा आगो लगाएकै आरोपमा कोही पनि पक्राउ परेका छैनन् । कतिपय मानिसले वनमा डढेलो लगाउँदा कलिलो घाँस पलाउने, विभिन्न किसिमका च्याउ उम्रिने भएकाले पनि सुख्खा मौसमको समयमा वनमा जथाभावी डढेलो लगाउने गरेको पाइएको छ । वनमा पाइने बिरुवाहरु उम्रिएपछि जंगलको रुप लिन ८ देखि १५ वर्षसम्म लाग्ने यसका जानकारहरु बताउँछन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्