झापा, चैत १४ । जंगली हात्तीको आक्रमणबाट रतुवामाई बृक्षरोपण आयोजनामा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान घाइते भएका छन् ।

आज साँझ ५.३० बजेको समयमा रतुवामाई बृक्षरोपण आयोजनामा दाउरा लिन गएका शिवसताक्षी ११ बस्ने ६० वर्षीया पवित्रा भेट्वालको हात्तीको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको हो । त्यस्तै उनका श्रीमान् ६२ वर्षीय दिलिप भेट्वाल गंभीर घाइते भएका छन् । घाइतेलाई एम्बुलेन्स बोलाएर उपचारका लागि बिर्तामोडतर्फ पठाइएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक अनिश बुढाथोकीले बताए ।

दुईवटाको संख्यामा आएका हात्तीले भेट्वाल दम्पत्तीलाई आक्रमण गरेको जनाइएको छ । घटनाको सर्जमिन मुचुल्का गरी मृतकको शवलाई पोस्टमार्टमको लागि दमक अस्पताल पठाइएको प्रहरी निरीक्षक बुढाथोकीले जानकारी दिए । योसंगै यस वर्ष हात्तीको आक्रमणबाट झापामा ६ जनाको मृत्यु भइसकेको छ । त्यस्तै ६ जना घाइते भएको डिभिजन वन कार्यालयकी सूचना अधिकारी अन्जना पुरीले जानकारी दिएकी छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्