झापा, चैत १४ । राजवंशी समाज विकास समितिका दुईवटा समूहबीच आधिकारिकताको विवाद चलिरहेका बेला सुवन्त राजवंशी नेतृत्वको समूहले आफ्नो संस्थालाई जिल्ला प्रशासन कार्यालयले नवीकरण गरिदिएकाले आफूहरु नै वैध भएको दावी गरेको छ ।


जिल्ला प्रशासन कार्यालय झापाले भर्खरै चालु आर्थिक वर्षको लागि आफ्नो संस्थालाई नवीकरण गरिदिएको सो समूहले दावी गरेको हो । सुवन्त राजवंशी केन्द्रीय अध्यक्ष भएको राजवंशी समाज विकास समितिले आज बिर्तामोडमा पत्रकार सम्मेलन गरी आफूहरु आधिकारिक भएको दावी प्रस्तुत गरेको हो । गत वर्ष पनि आफूहरुकै संस्थालाई जिल्ला प्रशासन कार्यालयले नवीकरण गरिदिएकोमा अर्को समूहले भ्रम सिर्जना गरेको जिल्ला अध्यक्ष उतम राजवंशीले बताए । उनले आफ्नो संस्थाका केन्द्रीय महासचिव चन्द्रप्रसाद राजवंशीले निवेदन दिएको र त्यस निवेदनका आधारमा जिल्ला प्रशासन कार्यालयले नवीकरण गरिदिएको जानकारी दिए ।

कार्यक्रममा राजवंशी समाज विकास समितिका केन्द्रीय सचिव लखनलाल राजवंशी , केन्द्रीय सल्लाहकार दलसिंह राजवंशी , जिल्ला अध्यक्ष उतम राजवंशी , जिल्ला सचिव सोहनलाल राजवंशी , मोरङका जिल्ला सचिव रुपेश राजवंशी ,बिर्तामोड नगर अध्यक्ष सिरतलाल राजवंशी , सचिव बालकृष्ण राजवंशी , सहसचिव झलकसिंह राजवंशीलगायतको उपस्थिति रहेको थियो । उनीहरुले आफूहरुको संस्था आधिकारिक प्रमाणित भइसकेको दावी गर्दै राजवंशी समाज विकास समितिको नाम , लेटरप्याड, छाप दुरुपयोग नगर्न समानान्तर समितिलाई आग्रह गरेका थिए । २०७९ असार ३० र ३१ गते मोरङमा आयोजित महाधिवेशनमा विवाद भएपछि विभाजित भएको राजवंशी समाज विकास समितिको दुईवटा समानान्तर समिति क्रियाशील रहँदै आएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्