झापा,चैत १४ । नेकपा एमाले जिल्ला कमिटी झापाको एघारौं जिल्ला अधिवेशन भोलिदेखि सुरु हुँदैछ ।

अधिवेशनको पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्माले बिर्तामोडमा उद्घाटन गर्दैछन् । यस्तै, बन्दसत्रमा राजनीति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।एमाले झापाको नेतृत्वका लागि दुई नेताहरु आकांक्षी देखिएका छन् । जिल्ला अध्यक्षका लागि हालका कार्यवाहक अध्यक्ष प्रेम गिरी र सचिव शिवकुमार ढुंगेलले आकांक्षा व्यक्त गरिरहेका छन् । ती दुईमध्ये गिरीलाई सहमतिबाट अध्यक्ष बनाउने योजना रहेको छ ।

पार्टीका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले गिरीलाई अध्यक्ष बनाउनेगरी सहमति गर्न निर्देशन दिइसकेको केन्द्रीय सदस्य तथा निवर्तमान जिल्ला अध्यक्ष दीपक कार्कीले बताए । उनले जिल्ला अध्यक्षमा गिरी र सचिवमा तुलसी कार्कीलाई बनाउने सहमति भइसकेको बताउँदै अन्य पदमा पनि सहमति जुटाउने प्रयास भइरहेको जानकारी दिए ।‘ केन्द्रीय नेतृत्वले प्रेम गिरीलाई अध्यक्ष बनाउने सहमति गरेको हो ’उनले भने,‘अर्का आकांक्षीलाई पनि व्यवस्थापन गर्ने पहल भइरहेको छ ।’ निर्वाचनमा नगई सहमतिमै नेतृत्व चयन गर्ने आफूहरुको पहल रहेको अध्यक्षका आकांक्षी गिरीले बताए । उनले उद्घाटन सत्र र बन्दसत्रपछिको माहोल हेरेर सहमति वा निर्वाचन कुन प्रणालीबाट नेतृत्व चयन गर्न सकिन्छ भनेर निर्णय गरिने जानकारी दिए ।

झापाको नेतृत्व चयनका लागि पहिलो प्राथमिकतामा सहमति गर्ने नभए चुनावी प्रक्रियाबाट नेतृत्व चयन गर्ने तयारी रहेको एमाले झापाले जनाएको छ । गृहजिल्ला भएका कारण पनि अध्यक्ष ओलीले सर्वसम्मत गराउन प्रयत्न गर्ने केही थरी नेताको दाबी छ । अध्यक्षका उम्मेदवारहरुले आन्तरिक रुपमा लविङ गरेपनि ओलीको सुझाव पर्खिरहेको बुझिन्छ ।संविधानसभा सदस्य एवम् पार्टीको उपाध्यक्ष भइसकेकाले अध्यक्षमा स्वाभाविक रुपमा गिरीले आकांक्षा राख्न पाउनुपर्ने कतिपयको बुझाइ छ । यता, संसदीय मोर्चामा अहिलेसम्म अवसर नलिएको, पार्टी निर्माणमा वर्षौदेखि निरन्तर योगदान गरिरहेका ढुंगेललाई नेतृत्व प्रदान गर्नुपर्ने तर्क पनि छ । गिरी र ढुंगेल दुवै जना अध्यक्षको उम्मेदवार बन्ने लगभग निश्चित भएपछि प्रतिनिधिहरु कसको समर्थनमा लाग्ने भन्ने अन्यौलमा छन् । सहमतिमा गिरीको संभावना बलियो देखिएको छ भने निर्वाचनमा गए ढुंगेलले निर्वाचन जित्न सक्ने आकलन गरिएको छ ।

यस्तै उपाध्यक्षमा बद्री भट्टराई, लक्ष्मण पाठक, सचिवमा तुलसी कार्की, असारु राजवंशी, टिकाराम मंग्राती, बोधप्रसाद घिमिरे, उपसचिवमा छविलाल विश्वकर्मा, छविलाल चुडाल, पवित्रा पाठक, लिला दाहालको चर्चा छ । पदाधिकारी र अन्य समितिमा गरी ३ सयभन्दा बढी आकांक्षी देखिएका छन् । करिव ८ सय प्रतिनिधि हुने जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन हुने छ । जिल्ला अधिवेशनबाट १५० सदस्यीय कमिटी बन्ने बुझिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्