झापा,चैत १५ । तेस्रो संस्करणको ओलम्पियन पुनर्मिलन तथा स्पोर्ट्स सेलिब्रेटी मिट–२०२४ कोशी प्रदेशको सुनसरीस्थित इटहरीमा हुने भएको छ । त्यसका लागि प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेशका सदस्य सचिव हंशराज वाग्ले र नेपाल ओलम्पियन सङ्घका अध्यक्ष दीपक विष्टले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार खेलकुद विकास बोर्ड कार्यक्रमको आयोजक रहने छ भने ओलम्पियन्स सङ्घले कार्यक्रमको संयोजन गर्ने छ । कार्यक्रम आगामी वैशाख २० गते हुनेछ । कार्यक्रमको पहिलो संस्करण काठमाडौं र दोस्रो संस्करण गत वर्ष पोखरामा भएको थियो । ओलम्पियन सङ्घको नेतृत्वमा दीपक विष्ट आएपछि यो कार्यक्रमको सुरवात गरिएको हो ।

देशभर छरिएर रहेका ओलम्पियनलाई एकै ठाउँमा भेला गराउने उद्देश्यले कार्यक्रमको सुरुआत गरिएको अध्यक्ष विष्टले बताए। विष्टकाअनुसार यो पटकको कार्यक्रमको नयाँपक्ष भनेको विदेशी ओलम्पियनका साथै विदेशमा रहेका नेपाली ओलम्पियनको पनि कार्यक्रममा सहभागिता रहने छ ।

कार्यक्रमको दिन बिहान वाकाथन हुने छ । वाकाथनमा कोशी प्रदेशमा रहेका खेलाडी र ओलम्पियनलगायतको सहभागिता रहने छ । वाकाथन पछि सोही दिन भब्य समारोहबीच सन् १९८८ को सिओल ओलम्पिकमा सहभागी नेपाली ओलम्पियनलाई सम्मान गरिने छ ।

१९८८ को सिओल ओलम्पिकमै तेक्वान्दोका विधान लामाले प्रदर्शनी खेलमा कांस्य पदक जितेका थिए । सम्मान थाप्न लामापनि अमेरिकाबाट नेपाल आउने अध्यक्ष विष्टले जानकारी दिए ।ओलम्पियन सङ्घले विगतका दुई संस्करणमा सन् १९६४ देखि १९८४ का दौरान भएका विभिन्न पाँच संस्करणमा सहभागी नेपाली ओलम्पियनलाई सम्मान गरिसकेको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफ्नो प्रदेशमा ओलम्पियनहरुको पुनर्मिलन कार्यक्रम हुनु खुशीको कुरा भएको भन्दै खेलाडीलाई स्वागत गर्न आतुर रहेको बताए । सदस्य सचिव वाग्लेले ओलम्पियनहरुको पुनर्मिलन कार्यक्रमले कोशी प्रदेशका खेलाडीमा उत्साह थपिने र आन्तिरिक पर्यटन प्रवद्र्धनमा पनि टेवा पुग्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्