झापा, चैत १५ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले इलाम–२ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा मिलन लिम्बूलाई उम्मेदवार बनाउने भएको छ ।

रास्वपा केन्द्रीय निर्वाचन आयोगका सचिव भूमिनन्द बरालले इलाम–२ मा लिम्बूसहित ६ जनाले उम्मेदवार बन्ने आकांक्षा देखाए पनि बाँकी ५ जनाले लिम्बूलाई समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

बिहीबार काठमाडौंको चःमतिस्थित केन्द्रीय कार्यालयमा भएको छलफलमा ५ जना उम्मेदवारले लिम्बूलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका हुन् । प्रतिनिधिसभातर्फ इलाम निर्वाचन क्षेत्र–२ र प्रदेशसभातर्फ बझाङको निर्वाचन क्षेत्र–१ (१) मा वैशाख १५ मा उपनिर्वाचन हुन लागेको हो । एमालेका उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ मा निधन भएपछि इलाम–२ रिक्त थियो ।

त्यस्तै बझाङमा कांग्रेसबाट निर्वाचित प्रदेश सांसद पृथ्वीबहादुर सिंहको गत असार २५ मा निधन भएकाले रिक्त भएको थियो । एमालेले इलाममा सुहाङ नेम्वाङ र बझाङमा दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आइतबार बसेको एमालेको सचिवालय बैठकले उम्मेदवार चयन गर्नुका साथै सत्ता गठबन्धनमा सहभागी दलहरूको समर्थन जुटाउने कसरत थालेको हो ।

सुहाङ एमाले नेता नेम्वाङकै कान्छा छोरा हुन् । कानुन व्यवसायी उनले पार्टीले उम्मेदवार बनाउनु अघिदेखि नै चुनावी दौडधुप थालिसकेका छन् । त्यस्तै पहिचानवादी पक्षधरबाटै डकेन्द्रसिंह लिम्बूले पनि उम्मेदवारी दिने बताएका छन् । उनले पनि प्रचारप्रसार थालिसकेका छन् । उनलाई जसपाले समेत साथ दिने बताइएको छ ।

त्यस्तै पहिचान पक्षधरकै तर्फबाट जनमत पार्टीले प्रेमदीप थाम्सुहाङलाई उम्मेदवार बनाएको छ । प्रेमदीप किराँत–लिम्बुवान प्रदेश नामांकन अभियानका राष्ट्रिय अध्यक्षसमेत हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्