लक्ष्मी उप्रेती,

मेचीनगर । नेपालमा बर्सेनि पेट्रोलियम पदार्थको माग घट्न थालेको छ । पेट्रोलियम पदार्थको मूल्य नेपाल र भारतमा झण्डै बराबरजस्तै हुनु तथा नेपालमा विकास निर्माणको काम कम हुँदा खपत घटेको हो ।

गत आर्थिक वर्ष ०७९–०८० को फागुन मसान्तसम्मको तुलनामा चालु आर्थिक वर्ष २०८०–०८१ को सोही अवधिमा पेट्रोलियम पदार्थको खपत घटेको मेची भन्सार कार्यालय काँकरभिट्टाले जनाएको छ । भन्सार अधिकारीका अनुसार पूर्वीनाका भएर भित्रिने पेट्रोल, डिजेल, एलपी ग्यास तथा मट्टितेलको आयात चालु आर्थिक वर्षको शुरुदेखि नै घट्दो क्रममा रहेको थियो ।

चालु आर्थिक वर्ष २०८०–०८१ को पहिलो आठ महिनामा यो नाका भएर १३ अर्ब ३३ करोड १६ लाख ३३ हजार रुपैयाँ मूल्य बराबरको पेट्रोलियम पदार्थ (पेट्रोल,डिजेल, एलपी ग्यास तथा मट्टितेल) आयात भएको कार्यालयको अभिलेखले देखाएको छ ।

प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार गत आर्थिक वर्ष २०७९–०८० को सोही अवधिमा १४ अर्ब ६२ करोड ४३ हजार रुपैयाँ मूल्य बराबरको पेट्रोलियम पदार्थ (पेट्रोल,डिजेल, एलपी ग्यास तथा मट्टितेल) आयात भएको थियो । गत आवको तुलनामा चालु आवमा काँकरभिट्टा नाका भएर १ अर्ब २८ करोड ८४ लाख १० हजार कम मूल्य बराबरको पेट्रोलियम पदार्थ (पेट्रोल,डिजेल, एलपी ग्यास तथा मट्टितेल) आयात भएको हो ।

भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष ०७९–८० को फागुनसम्ममा काँकरभिट्टा नाका भएर ६ अर्ब १३ करोड ९२ लाख ४७ हजार रुपैयाँ मूल्य बराबरको ६१ हजार ३ सय ५६ किलोलिटर पेट्रोल आयात भएको छ । तर, चालु आर्थिक वर्षमा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९ करोड ६ लाख १९ हजार रुपैयाँ कमको पेट्रोल आयात भएको छ । कार्यालयका अनुसार सो अवधिमा ६ अर्ब ९ करोड९६ लाख २८ हजार रुपैयाँ मूल्य बराबरको ६१ हजार २ सय ७२ किलोलिटर पेट्रोल आयात भएको छ ।

यसैगरी, चालु आर्थिक वर्षको पहिलो आठ महिनामा काँकरभिट्टा नाका भएर ४ अर्ब ८७ करोड ६९ लाख ९६ हजार रुपैयाँ मूल्य बराबरको ४५ हजार १ सय ४० किलोलिटर मात्र डिजेल आयात भएको छ । जुुन परिमाण अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ८५ करोड ४८ लाख २१ हजार रुपैयाँ कम हो । कार्यालयको अभिलेख अनुसार गत आर्थिक वर्षको फागुनसम्म यो नाका भएर ५ अर्ब ७३ करोड १८ लाख १७ हजार रुपैयाँ मूल्य बराबरको ४५ हजार ४ सय ८ किलोलिटर डिजेल आयात भएको थियो ।

गत आवको तुलनामा चालु आवमा हवाई इन्धनको आयात निराशाजनक छ । गत आवमा ८२ करोड ६१ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको ६ हजार ८ सय २८ किलोलिटर हवाई इन्धन आयात भएकोमा चालु आवमा घटेर ५३ करोड ८६ लाख ६८ रुपैयाँमा सीमित हुन पुग्यो । चालु आवमा ४ हजार ९ सय १६ किलोलिटर हवाई इन्धन आयात भएको छ ।

गत आवको तुलनामा चालु आवमा हवाई इन्धन २८ करोड ७४ लाख ८२ हजार रुपैयाँँ अर्थात १ हजार ९ सय १२ किलोलिटरले कम हो । यसैगरी, खाना पकाउने एलपी ग्यास अघिल्लो आवमा १ अर्ब ७५ करोड ९५ लाख ६६ हजार रुपैयाँ मूल्य बराबरको १ करोड ५५ लाख ७५ हजार ६ सय ६० केजी आयात भएको कार्यालयले जनाएको छ । चालु आवमा भने १ अर्ब ६६ करोड ५५ लाख ५४ हजार रुपैयाँ मूल्य बराबरको १ करोड ६१ लाख ९९ हजार ८ सय ४० केजी आयात भएको छ ।

चालु आवको आठ महिनामा १५ करोड ७९ लाख ६ हजार रुपैयाँ मूल्य बराबरको १ हजार ३ सय ९२ किलोलिटर मट्टितेल काँकरभिट्टा नाका भएर नेपाल भित्रिएको छ । गत आवमा १६ करोड ३२ लाख ६३ हजार रुपैयाँ मूल्य बराबरको १ हजार ३ सय ४ किलोलिटर मट्टितेल आयात भएको थियो । यो नाकाबाट पेट्रोलियम पदार्थ आयात घट्नेबित्तिकै त्यसको प्रत्यक्ष असर राजस्वमा पर्ने गरेको छ । कार्यालयको वार्षिक राजस्व असुली (संकलन)को प्रमुख वस्तु नै यसको आयात हो । यसको आयात कम हुँदा लक्ष्य अनुसार राजस्व असुली गर्न धौं धौं पर्ने गरेको भन्सार अधिकारीको भनाई छ ।

अघिल्ला वर्षहरूमा वार्षिक १५ प्रतिशतको औसत दरले पेट्रोलियम पदार्थको खपत बढ्ने गरेको थियो । यो चालु आवमा भने इन्धन खपतमा खासै सुधार नआएको भन्सार अधिकारीहरुको भनाई छ । एक जना भन्सार अधिकारीका अनुसार पछिल्लो समय नेपालमा पेट्रोलियम पदार्थको खपत घटनुको मुख्यः कारण भारतमा भन्दा नेपालमा महँगो हुँदाको परिणाम पनि हो ।
‘अघिल्ला आवमा नेपालको तुलनामा भारतमा पेट्रोलियम पदार्थको मूल्य बढी थियो’ नाम नलेखिदिने शर्तमा ती उच्च अधिकारी भन्छन्,‘ नेपालमा सस्तो हँुदा दैनिक ५ देखि ७ सयसम्म भारतीय सवारी साधन नेपालमा तेल हाल्न आउँथे, कतिले त ठुल्ठुला ड्रम र आफ्ना सवारी साधनमा अतिरिक्त तेलको ट्यांकी जडान गरी अबैधरुपमा भारततर्फ यस्ता वस्तु लैजान्थे । अहिले भारतमा सस्तो छ ती सवारी साधनले नेपालमा तेल हाल्नै छाडे त्यसको असर पनि पनि हो आयात घट्नु ।’ नेपालमा महंगो हुँदा यसले भारततर्फ हुने इन्धन तस्करी रोकिएको छ । पेट्रोलियम पदार्थको आयात परिमाण घट्नुमा भारतमा मूल्य सस्तो हुनु र नेपालमा विकास निर्माणमा काम कम हुनु प्रमुख कारण रहेको बताइन्छ ।

पेट्रोलियम पदार्थको माग देशभरकै अनुपातमा झापामा ५० प्रतिशत र अन्य समयको तुलनामा जिल्लामा ३५ प्रतिशतले कमि आएको छ । यसको मुख्यः कारण मूल्यमा उतारचढाव नै रहेको ठहर ती अधिकारीको छ । केही दिनदेखि भारतको तुलनामा नेपालमा पेट्रोल प्रतिलिटर ८ रुपैयाँ महँगो छ । अहिले पेट्रोलियम पदार्थको मूल्य नेपालमा भन्दा भारतमा कम छ । ‘गत वर्ष नेपालमा भन्दा भारतमा मूल्य महँगो थियो । जसका कारण सीमापार क्षेत्रका भारतीय गाडीहरू नेपालमा आएर पेट्रोलियम पदार्थ खरिद गर्दथे’ एक पेट्रोलियम व्यवसायीले भने,‘अहिले नेपालमा भन्दा भारतमा पेट्रोलको मूल्य कम छ । जसले गर्दा सीमा क्षेत्रका नेपालीहरुले भारतमा गएर पट्रोल खरिद गर्छन् । जसका कारण आयात परिमाणमा कमी आएको छ ।’ साथै, सामान ढुवानीको लागि भारत गएका गाडीहरुले पनि उतैबाट पेट्रोल लोड गरेका आउँदा नेपालमा पेट्रोल आयात परिमाण घटेको उनको धारणा छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्