भारतबाट मिसावट भएको बेसार सस्तो मूल्यमा

देविका अधिकारी,
झापा । झापाका सामुदायिक वन उपभोक्ता समूहहरूले उत्पादन गरेको अर्गानिक बेसार बिक्री हुन सकेको छैन ।

वनको खाली जग्गामा कृषि वनअन्तर्गत समूहहरुले उत्पादन गरेको बेसार बिक्री नभएको हो । जलथलका ८ वटा वन उपभोक्ता समूहहरुले ठूलो क्षेत्रफलमा बेसार खेती गरेका छन् । भद्रपुरका दियालो, दशरथपुर, विशाल र कमलधाप रामपोखरी, हल्दिबारीका पाथीभरा कालिका र रातमाटे यसैगरी कचनकवलका दुर्गाभिट्टा र त्रिवेणी सामुदायिक वन समूहमा कृषि वनअन्तर्गत बेसार उत्पादन गर्दै आएका छन्। बिदेशबाट आयात हुने गरेको बेसारका कारण यहाँ उत्पादित बेसारले बजार पाउन मुश्किल परिरहेको हो । भारतबाट मिसावट भएको बेसार सस्तो मूल्यमा नेपाल भित्रिनाले पनि यहाँको बेसार अलिकति महंगो हुन गएको व्यापारीहरू बताउँछन् ।

कृषि वनमा उत्पादित अर्गानिक बेसारको बजार प्रवर्धन गर्न र आम उपभोक्ताहरुलाई सस्तोभन्दा पनि गुणस्तरको बारेमा बुझाउन सामुदायिक वन उपभोक्ता महासंघ झापाले पहल थालेको छ । त्यसक्रममा त्यसक्रममा बिहीवार सरोकारवालाहरुसंग अन्तरक्रिया गरिएको थियो । कार्यक्रममा उद्योगी , व्यवसायी ,जनप्रतिनिधि ,वन पदाधिकारीलगायतले बेसारको बजार प्रवर्धन कसरी गर्ने भन्ने विषयमा आ–आफ्ना धारणा प्रस्तुत गरेका छन् । बेसारमा विशेष गरी सेतो पिठो मिसाइएको पाउने भएकाले त्यसको मात्रा सब्जीमा धेरै लाग्ने तर अर्गानिक बेसार थोरै प्रयोग हुने हुँदा यो विषय आम उपभोक्तालाई बुझाउन सके मूल्य खासै फरक नपर्ने सहभागीहरुको निष्कर्ष रहेको थियो। अर्गानिक रूपमा उत्पादन गरिएको बेसारको प्रचार प्रसार तथा बजार प्रवर्धन गर्न सबैले आ–आफ्नो क्षेत्रबाट पहल गर्ने प्रतिबद्धता जनाएका थिए।

कार्यक्रममा हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनले हल्दिबारी गाउँपालिका सामुदायिक वन समूहले गरेका यस्ता कार्यक्रममा सहकार्य गर्न तयार रहेकाले समूहहरूले बेलैमा कार्यक्रम माग गरे नीति तथा कार्यक्रममा समावेश गर्न सकिने बताए।यसैगरी कचनकवल गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईले रैथाने बाली संरक्षण तथा कृषकहरूको जिविकोपार्जनमा जोडिएको बेसारलाई उत्पादन र बजारीकरणका लागि कचनकवल गाउँपालिकाले सकेको सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जनाए । उनले धेरै समूहहरूले बेसार उत्पादन गरेपनि साझा धारणा बनाएर एक ठाउँमा प्रशोधन गर्दा सहज हुने धारणा राखेका थिए।
यस्तै झापा उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजकुमार राईले सामुदायिक वनहरूले उत्पादन गरेको बेसारको बजारीकरण र ब्रान्डिङमा सहकार्य गर्ने बताए।
यसैगरी डिभिजन वन कार्यालय झापाका अधिकृत ऋषि पराजुलीले कृषि वन प्रवर्धन कार्यक्रमले बेसार उत्पादनसँगै रैथाने वनस्पति पुनरुत्पादन हुने भएकाले यो एउटा राम्रो कार्यक्रम भएको धारणा राखे ।
यस्तै दुर्गाभिट्टा समूहका अध्यक्ष धनराज गुरुङले जंगली जनावरबाट पनि सुरक्षित तथा वनको संरक्षणमा टेवा पुर्याउन र आर्थिक आम्दानी गर्ने कृषि वनको अवधारणा उचित रहेको बताए।सामुदायिक वन उपभोक्ता महासंघ झापाका अध्यक्ष बेदप्रकाश भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा फरेष्टएक्सन नेपालकी फिल्ड अधिकृत मुना भट्टराईले वन समूहमा भएको बेसार खेती किन भन्ने बारेमा तथ्यसहित प्रस्तुतीकरण गरेकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्