झापा, चैत १६ । १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको उपाधिको लागि चर्च ब्वाइज युनाइटेड र नेपाली सेनाको विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुने भएको छ।


इटहरी रंगशालामा गएराति भएको सेमिफाइनलमा आयोजक राष्ट्रिय जागृति क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज उपाधिका लागि आर्मीसँग भिडने भएको हो। चर्च ब्वाइज झापा गोल्डकप विजेता टोली हो। यो टोली इटहरी गोल्डकपको अघिल्लो संस्करणको उपविजेता हो।

चर्च ब्वाइजका लागि समिर तामाङले खेलको अन्तिम समयमा गरेको गोल नै निर्णायक बन्यो। उनले खेलको ८९ औँ मिनेटमा निर्णायक गोल गरेका थिए । उनले खेलको म्यान अफ द म्याच घोषित हुँदै नगद १० हजार हात पारेका छन्। उपाधिका निम्ति भोलि चर्च ब्वाइज र आर्मीबीच प्रतिस्पर्धा हुनेछ।

गत बुधबार राति त्रिभुवन आर्मी साबिक विजेता मोरङको सगरमाथा क्लबलाई पेनाल्टी सुट आउटमा २–१ गोल अन्तरले हराउँदै फाइनलमा पुगेको हो। फाइनलमा जित्नेले १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ हात पार्नेछन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्