झापा, चैत १६ । मनोक्रान्ति साधक तिलक लिम्बूले ७ दिने भू–तपस्या गर्ने भएका छन् ।

झापाको कनकाई नगरपालिका ७ दुर्गापुरमा रहेको फक्ताङलुङ एजुकेशन फाउण्डेसनको प्राङ्गणमा लिम्बूले चैत १७ देखि जमिनमुनि बसेर भू–तपस्या गर्न लागेका हुन् ।
झापा कमल गाउँपालिका ७ का लिम्बू फक्ताङलुङ बिद्यालयमा योग प्रशिक्षकको रुपमा कार्यरत छन् । उनले स्कुलको खुला मैदानमा भू–तपस्या गर्ने बिर्तामोडमा पत्रकार भेटघाट गरी जानकारी दिएका छन् ।

विकासानन्द फाउण्डेसन विश्व परिवार बराङ पोखरामा योग साधना सिकेका लिम्बूले चैत १७ गते ३ बजेदेखि चैत २३ गते दिउँसो ३ बजेसम्म निराहार भू–तपस्या गर्ने बताइएको छ । मानव जातिप्रति समर्पित आध्यात्मिक सन्देश ‘संसारलाई बदल्नु छ, शुरु आफैबाट गर्नु छ’ भन्ने मनोक्रान्ति अभियानको नारालाई जनमानसमा पुर्याउने उद्देश्यले भू–तपस्या गर्न लागेको साधक लिम्बूले बताए ।

९ फिट गहिरो ९–९ फिट लम्बाइ र चौडाइको खाडलमा पुरिएर भू–तपस्या गरिने बताइएको छ । लिम्बूलाई भू–तपस्या बस्नको लागि विकासानन्द फाउण्डेसनले सहजीकरण गरिरहेको मनोक्रान्ति प्रमुख गजेन्द्रराज नेम्वाङले जानकारी दिए । भू–तपस्वी लिम्बूलाई मनोक्रान्ति गुरु डा. योगी विकासानन्दले जुस खुवाएपछि भू–तपस्या सम्पन्न हुने बताइएको छ ।

लिम्बूको भू–तपस्या सम्पन्न भएपछि त्यसको औचित्य, आवश्यकता, जीवन र जगतको रूपान्तरण विषयमा डा. विकासानन्दको विशेष प्रवचन रहने फक्ताङलुङ एजुकेशनका संस्थापक प्रिन्सिपल तथा मनोक्रान्ति साधक ओमबिक्रम नेम्वाङले जानकारी दिए । लिम्बूको तपस्यालाई फक्ताङ्लुङ एजुकेशनले सहयोग र सहजीकरण गर्ने नेम्वाङले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्