झापा, चैत १६ । धेरै प्रकाश फ्याल्ने मासलाइटको माग झापामा बढेको छ ।

गत कात्तिक महिनामा नेपाल विद्युत प्राधिकरण अनारमनी वितरण केन्द्रको परिसरमा जडान गरिएको मासलाइट प्रभावकारी देखिएपछि जिल्लाका विभिन्न पालिकाहरुमा यसको माग बढेको हो । अहिलेसम्म बिर्तामोडको पाँच स्थानमा मासलाइट जडान गरिसकिएको छ । बिर्तामोडको बसपार्क क्षेत्रमा दुईवटा, मुक्तिचौकमा एउटा मासलाइट जडान गरिएको छ भने बिर्तामोड ३ को बिर्ताबजार र सैनिकमोडमा एक–एकवटा मासलाइट जडान गरिएको अनारमनी वितरण केन्द्रले जनाएको छ । बिर्तामोडको मुक्तिचौकमा मासलाइट जडान गर्न एक्सेल डेभलपमेन्ट बैंकले सहयोग गरेको थियो भने बसपार्कमा बसपार्क व्यवस्थापन समितिकै पहलमा दुईवटा लाइट जोडिएको हो । त्यस्तै बिर्तामोड ३ मा सम्बन्धित वडा कार्यालयको पहलमा लाइट जडान गरिएको छ । लाइट जडान गर्नका लागि ४ वटा पोल नेपाल विद्युत प्राधिकरणले उपलव्ध गराएको र एउटा पोल बिर्तामोडको ३ नं वडा कार्यालयले आफै खरिद गरेको अनारमनी वितरण केन्द्रका प्रमुख संजीवकुमार शाहले बताए ।

उनले अनारमनी वितरण केन्द्रमा मासलाइटको लागि करिव २५ वटा निवेदन परेको जानकारी दिए । बिर्तामोडसंगै कन्काई नगरपालिका , झापा गाउँपालिका , हल्दिवारी गाउँपालिका , बाह्रदशी गाउँपालिकाबाट समेत मासलाइटको माग भइरहेको उनले बताए । ठूलो क्षमतामा उज्यालो फ्याल्ने हुँदा शान्ति सुरक्षा र रात्रिकालीन बजारका लागि मासलाइट अत्यन्त उपयोगी देखिएको छ । उपयोगी र आवश्यकीय देखेर आफूहरुले शुरुमा बिर्ताबजारमा पोल खरिद गरेर १ लाख ३० हजारमा मासलाइट जडान गरेको बिर्तामोड ३ का वडाध्यक्ष मदन बुढाथोकीले बताए । उनले त्यसपछि सैनिकमोडका लागि प्राधिकरणले पोल निःशुल्क दिँदा ७० हजार रुपैयाँ खर्च भएको जानकारी दिए । सैनिकमोडको मेची आँखा अस्पतालअगाडि पनि आवश्यक देखिएकाले थप मासलाइटको लागि पहल भइरहेको उनले जानकारी दिए ।

उज्यालो बिर्तामोड बनाउने अभियान
रात्रिकालीन बजार संचालन गर्ने उद्धेश्य राखेको बिर्तामोड उद्योग वाणिज्य संघले त्यसलाई लक्षित गरी उज्यालो बिर्तामोड बनाउने अभियान शुरु गर्ने भएको छ । अँध्यारोका कारण साँझ ६ बजे नै व्यवसायीहरुले व्यापार व्यवसाय बन्द गर्नुपर्ने अबस्थालाई मध्यनजर गरी बिर्तामोडका विभिन्न ठाउँमा मासलाइट जडान गर्ने पहल भइरहेको बिर्तामोड उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष राजु न्यौपानेले बताए । उनले सोलार बत्तीलाई प्रतिष्थापन गरी त्यस ठाउँमा मासलाइट राख्न नगरपालिका , वडा कार्यालय र प्राधिकरणसंग छलफल भइरहेको जानकारी दिए । बिर्तामोडमा करिव ७ वर्षअघि जडान भएका अधिकांश सोलार वत्ती कामै नलाग्ने गरी बिग्रिसकेका छन् । ‘ हामीहरुले बिग्रिसकेको सोलार बत्तीको ठाउँमा मासलाइट राख्नका लागि केही दिनअघि बजार अनुगमन गरेका थियौं’ न्यौपानेले भने,‘ मासलाइटका लागि नगरपालिकासंग पनि छलफल हुँदैछ ।’

मासलाइटका लागि चाहिने तार प्राधिकरणले दिने र बिजुलीको महशुल छेउको व्यवसायी वा व्यावसायिक प्रतिष्ठानले बुझाउनेगरी छलफल भइरहेको न्यौपानेको भनाई छ । सडक विस्तार भइरहेकाले सडकबाट उखेलिने पोल मासलाइटका लागि निःशुल्क वितरण गर्न सकिने वितरण केन्द्र प्रमुख शाहले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्