बिर्तामोड, चैत १६ । फुटबलको उर्वरभूमि बिर्तामोड १० सैनिकबजारमा चौथो संस्करणको वडाध्यक्ष टोलस्तरीय फुटबल प्रतियोगिता आजदेखि शुरु भएको छ ।

बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतारा प्रसाईले प्रतियोगिताको उद्घाटन गरिन् । महेन्द्रज्योति माध्यमिक विद्यालयको खेलमैदानमा संचालन भइरहेको प्रतियोगिताको उद्घाटन खेलमा नमुना टोल विजयी भएको छ । नमुना टोलले सैनिक क्याम्प+ ठुटेबर + विराट टोलको संयुक्त टीमलाई ४–२ को गोल अन्तरले पराजित गरेको हो । मध्यान्तरसम्म २–० ले पछि रहेको नमुना टोलले दोस्रो हाफमा स्थिति उल्ट्याउँदै ४–२ को नतिजासहित विजय हासिल गरेको हो । नमुना टोलका तर्फबाट पवन गुरुङ, विकेस लिम्बू, राजकुमार कन्दङ्वा र सिमन लिम्बूले गोल गरे । ती चारैजना खेलाडीहरुले खेलको उत्तरार्द्धमा गोल गरेका थिए ।

त्यस्तै खेलको पूर्वार्द्धमा सैनिक क्याम्प+ ठुटेबर + विराट टोलका तर्फबाट दिपेश श्रेष्ठ र शक्ति लिम्बूले दुई गोल गरी टीमलाई अग्रता दिलाएपनि जीत दिलाउन सकेनन् । आजको खेलमा विजेता टोलीका विकेस लिम्बू म्यान अफ द म्याच घोषित भए । प्रतियोगितामा १० वटा टीमको सहभागिता रहेको आयोजक वडा खेलकुद विकास समितिका अध्यक्ष सुरेन तुम्रोकले बताए ।

प्रतियोगिताको विजेताले नगद रु ३१ हजार प्राप्त गर्नेछ भने उपविजेता रु २१ हजार प्राप्त गर्नुका साथै दुवै टिमलाई मेडल, ट्रफी र सम्मानपत्रले सम्मान गरिनेछ । प्रतियोगिताको प्रत्येक खेलको म्यान अफ द म्याच खेलाडीले रु.१हजार साथै प्रतियोगिताभरिकै उत्कृष्ट गोलरक्षक,उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्स र उत्कृष्ट फरवार्डले नगद रु. २ हजारका दरले प्राप्त गर्नेछन् । त्यसैगरी प्रतियोगिताको सर्वाधिक गोल गर्ने खेलाडी, राईजिङ प्लेयर र उत्कृष्ट टिम कोचले समेत नगद रु. २ हजारका दरले पुरस्कार प्राप्त गर्नेछन् । भोलिको खेलमा चमरधाम + इलामेली टोलविरुद्ध गौरव टोल + भूतेनी टोलले प्रतिष्पर्धा गर्ने वडा खेलकुद विकास समितिका उपाध्यक्ष खड्गबहादुर गुरुङले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्