बिर्तामोड, चैत १६ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतन्त्रवादी आदिबासी÷जनजाति महासंघको कोशी प्रदेश अधिवेशन यही चैत २६ र २७ गते झापाको बिर्तामोडमा हुने भएको छ ।

महासंघका केन्द्रीय सदस्य एवं कोशी प्रदेश संयोजक विश्वदिप लिङ्देनको अध्यक्षतामा नेपाली कांग्रेस झापाको कार्यालयमा शुक्रबार सम्पन्न कोशी प्रदेशस्तरीय बैठकले झापाको बिर्तामोडमा प्रदेश अधिवेशन गर्ने निर्णय गरेको हो । प्रदेशभित्रका १४ वटै जिल्लाका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागितामा सम्पन्न बैठकले अधिवेशनको तयारीका लागि विभिन्न उपसमितिहरु गठन गरेको छ ।

प्रदेश अधिवेशन तयारीका लागि संयोजक लिङ्देनको अध्यक्षतामा १०१ सदस्यीय अधिवेशन तयारी समिति गठन गरिएको छ । गठित समितिका सदस्यहरुमा कोशी प्रदेशका सबै केन्द्रीय सदस्यहरु, चौध जिल्लाका अध्यक्षहरु, क्षेत्रीय अध्यक्षहरु एवं ५६ वटा प्रदेशसभा क्षेत्रका क्षेत्रीय अध्यक्षहरु सदस्य रहनेछन् ।
बैठकले झापा अध्यक्ष दिलकुमार नेम्बाङको अध्यक्षतामा आर्थिक समिति गठन गरेको छ । गठित समितिको सदस्यमा नरेन्द्र लावती, रमेश इवाहाङ, पूर्णध्वज आङदेम्बे, राजेश श्रेष्ठ, लवकुमार चौधरी रहेका छन् ।

आवास तथा भोजन ब्यवस्थापनका लागि रामबहादुर मगरको नेतृत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ । सदस्यहरुमा सञ्जीव प्रधान, विकास राई, दीर्घ मगर, जीवन तामाङ रहेका छन् ।

यसैगरी महासंघका झापा सचिव मोहन लिम्बूको नेतृत्वमा स्वयंसेवक परिचालन समिति गठन गरिएको छ भने प्रचार–प्रसार समितिको संयोजकमा सञ्जीव प्रधान चयन भएका छन् ।

महासंघका केन्द्रीय अध्यक्ष ओमबहादुर घर्तिमगरको प्रमुख आतिथ्यमा सम्पन्न बैठकमा केन्द्रीय सदस्यहरु बडाराम हेमरम, टेकबहादुर लिम्बू, पासाङ शेर्पा, रणबहादुर तावा, रमेश इवाहाङ, चन्द्र खालिङ, मोहन राजवंशीलगायतको आतिथ्य रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्