झापा, चैत १७ । चर्च ब्वाइज युनाइटेड र विभागीय टिम त्रिभुवन आर्मी क्लबबीच १४ औं संस्करणको इटहरी गोल्डकप फुटबलको उपाधिका लागि आज प्रतिस्पर्धा हुँदैछ ।

इटहरी रंगशालामा साँझ साढे ६ बजे हुने खेलमा दुवै टिम सफलता हात पार्दै उपाधि जित्ने दाउमा छन् ।
शुक्रबार भएको प्रिम्याच कन्फ्रेन्समा दुवै टिमका प्रशिक्षक तथा कप्तानले उपाधि जित्ने सम्भावना ५०–५० प्रतिशत रहेको बताए । चर्च ब्वाइज यो सिजनको दोस्रो उपाधि जितको खोजीमा हुनेछ भने आर्मी चौथो जितको खोजीमा मैदान उत्रने छ ।

यी दुई टिमबीच जारी सिजनमा दुई पटक भिडन्त हुँदा दुवै खेल आर्मीले जितेको थियो । कात्तिकमा मुख्यमन्त्री कोहलपुर गोल्डकपको फाइनलमा चर्च ब्वाइजलाई २–० ले पराजित गर्दै आर्मीले यो वर्षको पहिलो उपाधि जितेको थियो । माघमा २३ औं आहा–रारा पोखरा गोल्डकपको पहिलो पटक च्याम्पियन बन्दै सिजनको दोस्रो उपाधि हात पारेको आर्मीले सेमिफाइनलमा चर्च ब्वाइजमाथि २–१ को जित दर्ता गर्दै फाइनल तय गरेको थियो । आर्मी पाँचौ पाँचथर गोल्डकप च्याम्पियन टिम पनि हो । फागुन १९ मा पाँचथर गोल्डकपमा आर्मीले आयोजक पाँचथर क्लबलाई ४–२ गोलले पराजित गर्दै वर्षको तेस्रो उपाधि जितेको थियो । आर्मी अब इटहरी गोल्डकप जितेर उपाधि संख्या बढाउने दाउमा हुनेछ ।

पहिलो सहभागितामै अर्को विभागीय टिम एपीएफलाई ३–० पराजित गर्दै झापा गोल्डकप च्याम्पियन बनेको चर्च ब्वाइज इटहरी गोल्डकप जित्दै यो वर्षको दोस्रो उपाधि हत्याउने प्रयासमा छ । गत वर्षको सिमरा गोल्डकपमा हिमालयन शेर्पालाई पराजित गर्दै उपाधि जितेको चर्च ब्वाइज यसअघिको इटहरी गोल्डकपको उपविजेता टिम हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्