बिर्तामोड,चैत १७ । बिर्तामोड १० सैनिकबजारमा जारी चौथो संस्करणको वडाध्यक्ष टोलस्तरीय फुटबल प्रतियोगिताको शनिवारको खेलमा नगर गौरव + भूतेनी टोलको संयुक्त टीम विजयी भएको छ ।

महेन्द्रज्योति माविको खेलमैदानमा भएको प्रतियोगिताको दोस्रो खेलमा चमरधाम +दक्षिण चमरधाप + इलामेली टोलको संयुक्त टीमलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गरी नगर गौरव + भूतेनी टोलको टीम विजयी भएको हो । निर्धारित समयमा दुवै टीमबाट एक–एक गोलको बराबरी भएपछि निर्णयका लागि खेल टाइब्रेकरमा धकेलिएको थियो । दोस्रो हाफको ७ औं मिनेटमा नगर गौरव + भूतेनी टोलको संयुक्त टीमबाट सन्तोष गुरुङले गोल गरेका थिए । तर, त्यसको तीन मिनेटपछि चमरधाम +दक्षिण चमरधाप + इलामेली टोलको टीमका तर्फबाट सेजेन राईले गोल गरी खेललाई बराबरीमा पुर्याएका थिए । शनिवारको खेलमा विजेता टीमका गोलकिप्पर सुजन तामाङ म्यान अफ द म्याच घोषित भए । उनले १ हजार नगद प्राप्त गरे । बिर्तामोड ६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बिर्तामोड १० का वडाध्यक्ष दुर्योधन गुरुङ, वडा नं ३ का वडाध्यक्ष मदन बुढाथोकी , ५ का वडाध्यक्ष रोहित प्रसाईलगायतको आतिथ्य रहेको थियो ।

वडा खेलकुद विकास समितिको आयोजनामा चैत १६ देखि शुरु चौथो संस्करणको वडाध्यक्ष टोलस्तरीय फुटबल प्रतियोगिताको फाइनल खेल चैत २५ गते हुने भएको छ । प्रतियोगितामा १० वटा टीमको सहभागिता रहेको आयोजक वडा खेलकुद विकास समितिका अध्यक्ष सुरेन तुम्रोकले बताए । प्रतियोगिताको विजेताले नगद रु ३१ हजार प्राप्त गर्नेछ भने उपविजेता रु २१ हजार प्राप्त गर्नुका साथै दुवै टिमलाई मेडल, ट्रफी र सम्मानपत्रले सम्मान गरिनेछ । प्रतियोगिताको प्रत्येक खेलको म्यान अफ द म्याच खेलाडीले रु.१हजार साथै प्रतियोगिताभरिकै उत्कृष्ट गोलरक्षक,उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्स र उत्कृष्ट फरवार्डले नगद रु. २ हजारका दरले प्राप्त गर्नेछन् ।

त्यसैगरी प्रतियोगिताको सर्वाधिक गोल गर्ने खेलाडी, राईजिङ प्लेयर र उत्कृष्ट टिम कोचले समेत नगद रु. २ हजारका दरले पुरस्कार प्राप्त गर्नेछन् । आइतवारको खेलमा कालीमुनि +तोरीवारी+उदयरत्न+ शिवालय +भीमसेन टोलको संयुक्त टीम र लोक्ताम गाउँ +उज्यालो मिरमिरे टोलको संयुक्त टीमबीच प्रतिष्पर्धा हुने वडा खेलकुद विकास समितिका उपाध्यक्ष खड्गबहादुर गुरुङले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्