लक्ष्मी उप्रेती,

मेचीनगर । झापा जिल्लामा दुर्घटनाका कारण मृत्यु हुने आधाभन्दा बढी मोटरसाइकलसँग सम्बन्धित रहेको तथ्यांकले देखाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार चालु आर्थिक वर्ष २०८०÷०८१ को आठ महिनामा जिल्लामा मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३९ रहेको छ ।

चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा सवारी दुर्घटनामा मृत्यु भएका ५३ मध्ये ३९ जनाको मोटरसाइकल दुर्घटनाका कारण ज्यान गएको कार्यालयका प्रहरी नायव निरीक्षक पूर्ण गौतमले जानकारी दिए । उनका अनुसार, चालु आवमा भएका दुर्घटनामा परी निधन भएकामध्ये ३९ जना स्वयम् मोटरसाइकल चालक र त्यसमा सवार रहेका थिए । मोटरसाइकल ठक्कर दिएर मृत्यु र घाईते भएका पैदलयात्रीको अभिलेख यसमा संलग्न नभएको कार्यालयले जनाएको छ ।

मोटरसाइकल आफैँमा मात्र होइन, अरूका लागि पनि असुरक्षित सवारी देखिएको प्रहरीले जनाएको छ । मोटरसाइकल दुर्घटनामा पर्नेहरु २० देखि ४० वर्ष उमेर समूहका रहेको कार्यालयले जनाएको छ । ‘मोटरसाइकल दुर्घटनामा परी ज्यान गुमाउने पनि कलिलै उमेरका बढी रहेका छन्’ एकजना प्रहरीले भने,‘क्षमताभन्दा बढी चढ्ने अनि तीब्र गतिमा चलाउने गरेका कारण दुर्घटना हुने गरेको छ । अझ हेल्मेट नलगाई मोटरसाइकल चलाउँदा यात्रा झन् जोखिम हुने, मोटरसाइकल चलाउँदा अनिवार्य हेल्मेट लगाउनु पर्ने भएपनि अधिकांशले हेल्मेट प्रयोग गर्दैनन् ।’

उक्त अवधिमा भएका सवारी दुर्घटनामा ४ सय ६३ सवारीसाधन परेका थिए । ती दुर्घटनामा २ सय ८८ वटा मोटरसाइकल परेको कार्यालयले जनाएको छ । सवैभन्दा बढी कात्तिक महिनामा मोटरसाइकल चालक र सवार गरी १० जनाको मृत्यु भएको कार्यालयको अभिलेखले देखाएको छ । कात्तिकमा ६१ वटा सवारी दुर्घटना हुँदा ५० वटा मोटरसाइकलमात्र छन् । कात्तिक महिनामा दशैं तिहारलगायतका ठूला चाडपर्व परेका कारण बढी दुर्घटना भएको प्रहरीको अनुमान छ । पौष महिनामा मोटरसाइकल चालक र सवार गरी ९ जनाको मृत्यु भएको छ । पौषमा ४५ वटा सवारी दुर्घटना हुँदा ३२ वटा मोटरसाइकलमात्र छन् ।

भदौ र श्रावण महिनामा भएको मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुने त्यसमा सवार तथा चालकको संख्या ५÷५ जना रहेको छ । भदौंमा ५७ वटा सवारी दुर्घटना हुँदा मोटरसाइकलको संख्या २७ र श्रावणमा ८७ वटा सवारी दुर्घटना हुँदा मोटरसाइकलको संख्या ४९ रहेको कार्यालयले जनाएको छ । असोजमा २ मंसिरमा १, माघमा ३ र फागुनमा ४ जनाको मोटरसाइकल दुर्घटनामा परी निधन भएको छ । मोटरसाइकल दुर्घटनामा परी २ सय ५७ जना गम्भीर घाइते भएका छन् । ती सबै मोटरसाइकल चालक र त्यसमा सवार हुन् । त्यसैगरी ३ सय १६ जना सामान्य घाइते भएको प्रहरीसँग अभिलेख छ । अधिकांश मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुने गरेको छ । साँघुरो सडक, अत्यधिक सवारी चाप र तीव्र गतिका कारण दिनहुँ दुर्घटना हुने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । अझ प्रहरीको उपस्थिति नहुने क्षेत्रमा पुरै लापरवाही हुने गरेको छ । यस्तो समस्या ग्रामीण क्षेत्रका सडकमा धेरै रहेको प्रहरीको भनाई छ । चालक अनुमतिपत्रबिना सवारी चलाउन नपाइने नियम भएपनि लाइसेन्सबिना सवारी साधन चलाएका घटना प्रशस्त रहेका छन् । उनीहरु कारवाहीमा पर्ने गरेको प्रहरीको भनाई छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले ठाउँठाउँमा सवारी चेकजाँच, जनचेतनाका कार्यक्रमसँगै गति परीक्षणका लागि उपकरण मगाएर र विद्यालय–कलेजहरुका विद्यार्थीहरुलाई लक्षित गरी ट्राफिक जनचेतनाका कार्यक्रम पनि गर्दै आएको छ । मोटरसाईकल दुर्घटना भए सायदै मात्र मान्छे बाँच्ने गरेको एक प्रहरी अधिकारी बताउँछन् ।जिल्लामा सवारी नियम उल्लंघन गर्नेमा बढी मोटरसाइकल नै रहेका छन् । कार्यालयले नियमित एवम् छड्के चेकजाँचका क्रममा सवारीसाधनलाई कारवाही गर्ने गरेको छ।

सवारीसाधनका आवश्यक कागजात नबोक्ने, क्षमताभन्दा बढी बोक्ने, जथाभावी पार्किङ गर्ने, हेल्मेट नलगाउने, डिजिटल हर्न बजाउने, मादक पदार्थ सेवन गरी सवारी चलाउने कारवाहीमा परेका हुन् । सवारी चालकले गर्ने गल्तीको प्रकृति अनुसार जरिवाना गरिने कार्यालयले जनाएको छ । सवारी दुर्घटनामा कमी ल्याउन कार्यालयले बेलाबखत जिल्लाका अलग अलग स्थानमा गरेको छड्के चेकजाँच गर्ने गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्