शिवसताक्षी, चैत १८ । झापाको शिवसताक्षीमा जारी प्रदेशस्तरीय नविन राई स्मृति भेट्रान कप फुटबल प्रतियोगिताको आइतबार भएको खेलमा सी.वी.सी. भेट्रान क्लब सेमीफाइलनमा प्रवेश गरेको छ ।

धुलाबारी भेट्रान क्लबलाई टाइब्रेकरमा ४– २ गोल अन्तरले हराउँदै सी.वी.सी. भेट्रान क्लब चन्द्रगढी सेमीफाइनलमा प्रवेश गरेको हो ।

खेलमा धुलाबारीका तर्फबाट १८ औं मिनेटमा जर्सी नं. ९ का महेश सरकार र जर्सी नं. ११ का सुजन शाक्यले एक– एक गोल गरेका थिए । खेलको २३ औं मिनेटमा सी.वी.सी.का तर्फबाट जर्सी नं. १६ का सुवास खड्काले गोल गरेपछि खेल २–१ को अन्तरमा पुग्योे । खेलको इन्जुरी समयमा सी.वी.सी.का जर्सी नं. १७ का प्रेमकुमार लिम्बू (बी)ले गोल गरेपछि बराबरी भएर खेल टाइब्रेकरमा धकेलिएको हो ।

खेलमा सी.वी.सी.ले पाएको पेनाल्टी सुट गोलपोष्टभन्दा बाहिर गएको थियो । अत्यन्त रोमांचक रहेको खेलमा सी. वी. सी.ले धेरै अवसरहरु गुमाएपनि टाइबे्रकरमा सफलता हात पारेको थियो ।
खेलको म्यान अफ दी म्याच सी.वी.सी.का गोलरक्षक रुपक गुरुङ घोषित भए । उनले नगद २ हजार प्राप्त गरे । खेलको मध्यान्तरमा आजका प्रमुख अतिथि राष्ट्रिय टिमका सह प्रशिक्षक प्रवेश कट्वाललाई आयोजकले नगदसहित सम्मान गरेको थियो । स्व. नविन राईका पितालगायत आयोजक टिमले प्रशिक्षक कट्वाललाई नगद ५ हजारसहित सम्मानपत्र प्रदान गरेका थिए ।

प्रतियोगिता झिलझिलेस्थित गणेशमान सिंह अध्ययन प्रतिष्ठानको खेलमैदानमा सञ्चालन भइरहेको छ । प्रतियोगितामा कोशी प्रदेशका १० वटा टिमले सहभागिता जनाएको आयोजकले जनाएको छ।

प्रतियोगिताको विजेता टिमले नगद ७१ हजार र उपविजेताले नगद ४१ हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् । भोलि सोमबारको खेल पूर्वेली भेट्रान क्लब बिर्तामोड र एभरेष्ट भेट्रान क्लब मोरङबीच हुनेछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्