बिर्तामोड,चैत १८ । बिर्तामोड १० स्थित महेन्द्र ज्योति मा.वि. को खेलमैदानमा जारी चौथो वडाध्यक्ष टोलस्तरीय फुटबल प्रतियोगिताको आज भएको खेलमा उदयरत्न + तोरीबारी + शिवालय टोलको संयुक्त टिम विजयी भएको छ ।


विजयी टीमले उज्यालो मिर्मिरे टोललाई सडेनडेथमा २ – १ ले पाखा लगाएको हो । निर्धारित ८० मिनेटको खेलमा दुवै टिमबाट गोल नभएपछि खेल टाइबे्रकरमा धकेलिएको थियो ।टाइब्रेकरमा उदय रत्न + तोरीबारी + शिवालय टोलको संयुक्त टिमका तर्फबाट हेमन्त शेर्पा, समिर शेर्पा र सञ्जय दर्जीले गोल गरे भने उज्यालो मिर्मिरे टोलका तर्फबाट समिर लिम्बू, अर्जन रिमाल र देकमान लोक्तामले गोल गरेका थिए । टाइब्रेकरमा दुवै टिमका २ – २ जना खेलाडीहरु अठोट लिम्बू ,रमेश भण्डारी र भिम तामाङ र महेश राई गोल गर्नबाट चुकेका थिए ।टाइब्रेकरमा समेत ३–३ गोलको बराबरी भएपछि सडेनडेथ खेलाइएको थियो ।

सडेनडेथमा विजयी टिमका देव मगर र अमिस गुरुङले गोल गरे भने उज्यालो मिर्मिरे टोलका तर्फबाट रामहरि थापाले १ गोल गरे भने निशान लोक्ताम गोल गर्न चुके । आजको खेलको म्यान अफ दि म्याच विजय हुने उदय रत्न + तोरीबारी + शिवालय टोलको संयुक्त टिमका गोलरक्षक पेम्बा शेर्पा घोषित भए ।

आजको कार्यक्रम बिर्तामोड ५ का वडाध्यक्ष रोहित प्रसाईको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रममा बिर्तामोड १० का वडाध्यक्ष दुर्योधन गुरुङ, वडा नं ६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वा, वडा नं १० वडा सचिव दुर्गाप्रसाद अधिकारी, वडा सदस्य पृथ्वीबहादुर बस्नेत, महिला सदस्य धनकुमारी श्रेष्ठ लगायतको आतिथ्य रहेको थियो ।

भोलि हुने खेलमा जर्मन डाँडा + साबडिग्री टोलविरुद्ध भूपु सैनिक + सैनिक बजार टोलले प्रतिष्पर्धा गर्ने वडा खेलकुद विकास समितिका सचिव नरेन तामाङले बताए । प्रतियोगिताको विजेताले नगद रु ३१ हजार प्राप्त गर्नेछ भने उपविजेता रु २१ हजार प्राप्त गर्नुका साथै दुवै टिमले मेडल, ट्रफी र सम्मानपत्र पाउने छन् । प्रतियोगिताको प्रत्येक खेलको म्यान अफ द म्याच खेलाडीले रु.१हजार साथै प्रतियोगिताभरिकै उत्कृष्ट गोलरक्षक,उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्स र उत्कृष्ट फरवार्डले नगद रु. २ हजारका दरले प्राप्त गर्नेछन् ।
त्यसैगरी प्रतियोगिताको सर्वाधिक गोल गर्ने खेलाडी, राईजिङ प्लेयर र उत्कृष्ट टिम कोचले समेत नगद रु. २ हजारका दरले पुरस्कार प्राप्त गर्नेछन् ।
चैत १६ देखि शुरु भएको प्रतियोगिता चैत २५ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा १० वटा टीमको सहभागिता रहेको वडा खेलकुद विकास समितिका अध्यक्ष सुरेन तुम्रोकले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्