झापा,चैत १९ । स्थानीय उत्पादन र मौलिक संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले इलामको सूर्योदय नगरपालिका–४ स्थित श्रीअन्तुमा पर्यटन महोत्सव हुने भएको छ । नयाँ वर्षका अवसरमा यही चैत २८ गतेदेखि आगामी वैशाख १ सम्म ‘अन्तु पर्यटन महोत्सव–२०८१’ को आयोजना हुने भएको हो ।

“हाम्रा रैथाने उत्पादन र मौलिक संस्कृतिको प्रदर्शन गरेर आगन्तुक पर्यटकलाई चिनाउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो”, उपप्रमुख एवम् महोत्सव मूल आयोजक समितिका संयोजक दुर्गाकुमार बरालले भने “कलाकारहरुको सांस्कृतिक प्रस्तुतिका साथै विभिन्न जातजातिका मौलिक नृत्य, झाँकी प्रदर्शन हुनेछन् । स्थानीय तथा मौलिक खाद्य परिकारसहित स्थानीय हस्तकलाको स्टल राख्नेछौँ ।”

महोत्सवमा यम बराल, भूपेन्द्र राई, पुजन प्रधान, गणेश पराजुली, यशोदा पराजुली, फुटी शेर्पा, रवि रिमाल लगायत कलाकारको प्रस्तुति रहने आयोजकले जनाएको छ । लागुपदार्थ दुव्र्यसनी, मदिरा तथा सुर्तीजन्य वस्तुको नियमन, नियन्त्रण तथा व्यवस्थापनसम्बन्धी सन्देशमूलक सचेतना कार्यक्रम पनि गरिने बरालले बताए । “युवाशक्ति लागुपदार्थको सेवन र दुव्र्यसनीमा फस्दै गएका छन् । मदिरा तथा सुर्तीजन्य वस्तुको नियमन र नियन्त्रणमा चुनौती थपिँदैछ”, बरालले भने, “यस्ता कुराको नियन्त्रण सन्देशमूलक सचेतनाबाट मात्र सम्भव छ । सचेतनाका लागि र्याली आयोजना गर्नेछौँ । महोत्सवको उद्देश्य स्थानीय कला, संस्कृति संरक्षण तथा प्रवर्द्धन गर्नुका साथै युवालाई कुलतमा फस्नबाट रोक्नु पनि हो ।”

महोत्सवका अवसरमा ‘दोस्रो सूर्योदय आइडलको ग्रान्ड फिनाले’ समेत गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले बताए । “प्रतियोगितामा अन्तिम आठ प्रतियोगी हुनुहुन्छ”, उनले भने, “उहाँहरुको प्रस्तुति तथा विजेता घोषणा कार्यक्रम महोत्सवमै गर्नेछौँ ।” चैत २८ गते बृहत् नगर सरसफाइ कार्यक्रम राखिएको भन्दै अन्तु परिसरलाई सुन्दर बनाउँदै पर्यटकको आकर्षक केन्द्रका रुपमा प्रवर्द्धन गरिने भट्टराईले बताए । “चैत ३० गते सूर्योदय आइडलको प्रस्तुति, विभिन्न खाद्यपरिकारका स्टल, साँझमा दिपावली र डिजे सेसनका कार्यक्रम रहेका छन्”, उनले भने ।

नयाँ वर्षको पहिलो दिन बिहानै पर्यटकलाई सूर्योदयको दृश्यावलोकन गराएर शुभकामना आदानप्रदान गर्नुका साथै कार्यक्रमको उदघाटन गर्ने आयोजकको तयारी छ । “स्टलहरु राखिएकै हुन्छन् । पर्यटकले अवलोकन तथा किनमेल गर्छन्, फोटो खिच्ने भिडियो बनाउने गर्छन् । सांस्कृतिक कार्यक्रममा सहभागी भएर यहाँको कला, संस्कृतिलाई नजिकबाट बुझ्ने छन्” नगरपालिकाका प्रवक्ता ख्यामबहादुर भुजेलले भने, “समापनको दिन सूर्योदय आइडल विजेता घोषणा तथा पुरस्कार वितरण गर्नेछौँ । कलाकारको प्रस्तुतिमा आगामी वैशाख १ गते अन्तु सङ्गीतमय बन्नेछ ।”

महोत्सव आयोजना गर्न १० लाख खर्च हुने अनुमान आयोजकले गरेको छ । महोत्सव अवधिभर करिब दश हजार पर्यटक भित्रिने अपेक्षा राखिएको प्रवक्ता भुजेलले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्