झापा, चैत २०। ‘सहकारीमा सुशासन, प्रविधि र एकीकरण’ भन्ने मूल नाराका साथ मंगलवार देशभर ६७औं राष्ट्रिय सहकारी दिवस मनाइएको छ । २०१३ साल चैत २० गते चितवनमा बखानपुर सहकारी संस्थाको दर्ता भएको दिनको स्मरणमा यो दिवस मनाउने गरिन्छ ।


झापा जिल्ला सहकारी संघको आयोजनामा झाँकी, र्याली, जनसभा गर्दै बिर्तामोडमा शक्ति प्रदर्शनसहित सहकारी दिवस मनाइएको हो । बिर्तामोडस्थित सिटी सेन्टर परिसरमा बृहत जनसभाको आयोजना गर्दै मूल नारालाई सार्थक कार्यान्वयन गर्ने मन्तब्यका साथ दिवस मनाइएको हो ।

नेपाल सरकारका कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीको प्रमुख आतिथ्यमा आयोजित सहकारी दिवसमा मन्तब्य राख्दै उनले खाएको ऋण नतिर भन्नु अराजकता भएको प्रष्ट्याएका छन् ।
‘बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर नतिरी बस्नु इतिहासको गम्भीर गल्ती हुनेछ, त्यो ऋण कुनै पनि बेला आफैंले वा परिवार वा सन्तान दर सन्तानले तिर्नै पर्छ’ मन्त्री गिरीले भने, ‘आज ऋण नतिर भन्नेहरु त्यतिबेलासम्म यो धर्तीमा नै भेटिन्नन् ।’

नेपाली अर्थतन्त्रमा सहकारीलाई एउटा दर्बिलो खम्बा मानिएको प्रष्ट्याँदै मन्त्री गिरीले भने, ‘सहकारी कमजोर भयो भने नेपालमा निरपेक्ष गरिबी भोगिरहेका जनता भोकभोकै पर्ने छन् ।’ उनले सहकारीमाथिको आक्रमण निमुखा जनतालाई भोकै राख्ने चलखेलमात्रै भएको बताए ।

सुशासन र समृद्धिमा वर्तमान सरकार प्रतिवद्ध रहेको प्रष्ट पार्दै मन्त्री गिरीले आफ्नो तर्फबाट सकेसम्म धेरै योगदान गर्ने विश्वास दिलाए । समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न सहकारी अभियान सार्थक अभ्यास भएको बताउँदै मन्त्री गिरीले सहकारीको सुरक्षामा उत्पन्न हुने कानूनी झन्झट र समस्याहरु निराकरण गर्न सरकार प्रतिवद्ध रहेको जनाए ।
सहकारीको सुरक्षाका लागि अपिल गरिएका प्लेकार्डसहित १०औं हजार सहकारीकर्मीले बिर्तामोड नगर परिक्रमापछि जनसभाका लागि सिटी सेन्टर पुगेका थिए ।


सो अवसरमा ग्लोबल लिङ्कद्वारा घोषित नेपालको सबैभन्दा ठूलो सहकारी संस्था सहारा नेपाल साकोस लि. दोस्रो ठूलो संस्था नेपाल बहुउद्देश्यीय सहकारी र नवौं स्थानमा रहेको कर्णाली साकोसका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतहरुलाई सम्मान गरिएको थियो ।

सहारा नेपाल साकोसका अध्यक्ष हरिबहादुर राजवंशी र प्रमुख कार्यकारी अधिकृत महेन्द्रकुमार गिरी, नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष ठाकुरप्रसाद शिवाकोटी र प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेती तथा कर्णाली साकोसका अध्यक्ष टसबहादुर श्रेष्ठ र कार्यकारी प्रमुख कुमार याक्सोलाई प्रमुख अतिथि गिरीले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालको अध्यक्षतामा भएको कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष महेन्द्रकुमार गिरीले स्वागत गरेका थिए ।

सो समारोहमा राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष मिनराज कँडेललाई पूर्वघोषित सहकारी राष्ट्रिय व्यक्तित्व सम्मान तथा पुरस्कार हस्तान्तरण गरिएको थियो ।

समारोहमा सम्मानित व्यक्तित्व कँडेलसहित बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, नेकपा एमाले झापाका नवनिर्वाचित अध्यक्ष प्रेमबहादुर गिरी र नेकपा (माओवादी केन्द्र) झापाका अध्यक्ष राजु आचार्य (अग्नि) लगायतले सहकारी संस्थालाई व्यवस्थित गर्दै लानुपर्नेमा जोड दिएका थिए ।

सोही अवसरमा जिल्ला संघले हरेक वर्ष प्रकाशन गर्ने सहकारी स्मारिकासमेत विमोचन गरिएको थियो । कार्यक्रमको सञ्चालन संघका सचिव भवानीप्रसाद दंगालले गरेका थिए ।

तथ्याङ्क अनुसार झापामा ७५६ वटा सहकारी संस्था छन् । जसमध्ये स्थानीय तहले नियमन अधिकार राख्ने ४२३ वटा र प्रदेश सरकारले नियमन गर्ने ३३३ वटा सहकारी संस्थाहरु सञ्चालनमा छन् । जहाँ ६ हजार १०० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्