बिर्तामोड, चैत २१ । झापामा गत वर्ष कालाजारबाट एकजनाको मृत्यु भयो भने अर्का संक्रमित भए ।

धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गत वर्षको बैशाखमा पुष्टि भएका झापाका दुईजना कालाजारका संक्रमितमध्ये शिवसताक्षी ६ का १७ वर्षीय युवकको मृत्यु भयो भने बिर्तामोड वडा नम्बर ५ का ५२ वर्षिय पुरुषले उपचार गरे । एकजनाको मृत्यु र अर्का संक्रमित निको भइसकेको करिव एक वर्षपछि स्वास्थ्य कार्यालय झापाले अहिले रोकथामको कार्यक्रम संचालन गरिरहेको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले दश दिनअघि मात्र ती संक्रमितहरुको बारेमा रिपोर्ट दिएको हो । प्रतिष्ठानले करिव एक वर्षपछि झापामा दुईजना संक्रमित भएको रिपोर्ट दिएपछि अहिले स्वास्थ्य कार्यालय झापाले रोकथामका विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको कार्यालयका फोकल पर्सन वीरेन्द्र दासले बताए । उनले बिर्तामोड ५ र शिवसताक्षी ६ मा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र सरोकारवालालगायतसँगको समन्वयमा अभिमुखीकरण कार्यक्रम गरिएको जानकारी दिए ।

त्यस्तै संक्रमितको सम्पर्कमा रहेका व्यक्तिहरुको रगत परीक्षण गरिएको छ । बिर्तामोड ५ मा १७ जना र शिवसताक्षी ६ मा २४ जनाको रगत परीक्षण गरिएको फोकल पर्सन दासले बताए । उनका अनुसार कसैलाई पनि पोजेटिभ देखिएको छैन । त्यस्तै दुई दिनपछि ती क्षेत्रहरुमा विषादी छर्किने कार्यक्रम रहेको दासले जानकारी दिए । संक्रमित क्षेत्रमा ६–६ महिनामा तीन वर्षसम्म विषादी छर्किनु पर्ने उनले बताए । कोशी प्रदेशमा कालाजारका ११ वटा केस देखिएको छ । त्यसमा झापाका दुईसहित अरु मोरङ र सुनसरीमा फेला परेका हुन् ।

प्रोटोजोआको लिस्मेनिया परजीवी ‘स्यान्डफ्लाई’ नामक पोथी भुसुनाको टोकाइबाट मानिसमा कालाजार संक्रमण हुने गरेको छ । संक्रमितलाई टोकेको पोथी भुसुनाले निरोगी व्यक्तिलाई टोकेमा कालाजार सर्ने गर्छ ।
कालाजारका बिरामीमा जीउ कालो हुँदै जाने र दुई साताभन्दा बढी अवधिसम्म ज्वरो आउने, भुँडी सुन्निनेलगायत लक्षणहरु देखा पर्छन् । खुला र भुइँघरमा प्रायः रोग सार्ने भुसुनाले मानिसलाई टोक्ने गर्दछ ।

फोकल पर्सन दासले कालाजारविरुद्ध अहिलेसम्म खोप उपलब्ध नभएका कारण भुसुनाको टोकाइबाट बच्न लामो बाहुला भएको कपडा लगाउने, भुसुना भगाउन तेल वा क्रिम शरीरमा दल्ने, घर वरिपरि सरसफाइमा ध्यान दिने, साँझको समयमा घरबाहिर नघुम्ने, राति झुल लगाएर मात्र सुत्ने सल्लाह दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्