लक्ष्मी उप्रेती,
मेचीनगर । सरकारले मुसुरो दाल निर्यातमा प्रोत्साहन गर्न भन्दै व्यवसायीलाई सहुलियत दिएपनि पूर्वीनाकाबाट मुसुरो दालको निर्यात खासै सन्तोषजनक छैन ।

सरकारले निर्यात प्रोत्साहनस्वरूप व्यवसायीहरूलाई ५ प्रतिशत सहुलियत दिने गरेको सरकारी अधिकारीहरुको भनाई छ ।
सरकारले व्यवसायीलाई निकासी सहुलियत प्रदान गरेपनि काँकरभिट्टा नाकाबाट हुने मुसुरो दालको निर्यात व्यापार खासै सन्तोषजनक नरहेको मेची भन्सार कार्यालय काँकरभिट्टाले जनाएको छ । काँकरभिट्टा नाका भएर निर्यात हुने मुसुरो दाल हरेक वर्ष क्रमशः घट्दो क्रममा रहेको तथ्यांकले देखाएको छ ।

कुनै समय बंगलादेशसँगको व्यापारमा मुख्य हिस्सा ओगटेको मुसुरो (दाल) को निर्यात क्रमशः घट्दै जाँदा आयात भने दोब्बर बढिरहेको कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी एवम् भन्सार अधिकृत गणपति कँडेलका अनुसार खासगरी अस्ट्रेलिया र भारतबाट मुसुरोको आयात भइरहेको छ । यी देशसहित क्यानडा, म्यानमारलगायतका मुलुकहरूबाट मुसुरो आयात हुने गरेको छ । नेपालले बंगलादेशमा मुसुरो दाल निर्यात गर्ने गरेको छ । सन् १९९७ जुन १ देखि काँकरभिट्टा–फूलबारी–बंगलाबन्द मार्ग सञ्चालन भएयता नेपालले बंगलादेशमा पहिले गहुँ र अहिले मुसुरो निर्यात गर्दै आएको छ ।

चालु आर्थिक वर्ष २०८०–०८१ को पहिलो आठ महिनामा काँकरभिट्टा नाका भएर ४४ करोड ११ लाख ९८ हजार ८ सय ६१ रुपैयाँ बराबरको ४४ लाख ११ हजार ७ सय ७९ केजी मुसुरो दाल नेपाल भित्रिएको छ । चालु आवको साउनदेखि फागुन महिनाको अन्त्यसम्म अस्ट्रेलियाबाट ३४ करोड १३ लाख ८६ हजार ९ सय ४० रुपैयाँ बराबरको ३५ लाख २५ हजार ७ सय २० केजी र भारतबाट ९ करोड ९८ लाख ११ हजार ९ सय २० रुपैयाँ बराबरको ८ लाख ८६ हजार ५९ केजी मुसुरो दाल चालु आर्थिक वर्ष २०८०–०८१ को पहिलो आठ महिनामा काँकरभिट्टा नाका भएर अस्ट्रेलियाबाट नेपालले आयात गरेको हो ।

चालु आर्थिक वर्ष २०७९–०८० को पहिलो आठ महिनामा काँकरभिट्टा नाका भएर अस्ट्रेलियाबाट ३५ करोड ९९ लाख ५९ हजार ५५ रुपैयाँको ३५ लाख ६२ हजार ४ सय ३० केजी र भारतबाट १० करोड ७२ लाख ९ हजार ८ सय ३० रुपैयाँ बराबरको १० लाख९ हजार १ सय ९० केजी गरी कुल ४६ करोड ७१ लाख ६८ हजार ८ सय ८५ रुपैयाँ बराबरको ४५ लाख ७१ हजार ६ सय २० केजी मुसुरो दाल आयात गरिएको सूचना अधिकारी कँडेलले जानकारी दिए ।

‘मुसुरोको निर्यात आयातको तुलनामा दोब्बरबढी देखिन्छ,’कँडेलले भने, ‘मुसुरोको आयात बढ्ने क्रममा छ ।’ उनका अनुसार विगतमा मुसुरोको आयात ज्यादै न्यून थियो । केही वर्षयता आयात बढ्न थालेको छ । निर्यात क्रमशः घट्न थालेको छ । चालु आवको यहि अवधिमा नेपालले १३ करोड १५ लाख ८९ हजार ७ सय ८२ रुपैयाँको ९ लाख २ हजार ७ सय केजी मुसुरो दाल बंगलादेश निर्यात गरेको छ । यसअघिको आवको आठ महिनामा २६ करोड४९ लाख ८६ हजार ७ सय ३२ रुपैयाँ बराबरको १८ लाख ६ हजार ८ सय २४ केजी मुसुरो दाल निर्यात गरेको देखिन्छ । ‘मुसुरोको आयात अझै बढ्न सक्ने देखिन्छ । तर, निर्यात बढ्ने भन्दा पनि घट्ने सम्भावना बढी छ ’ एकजना व्यवसायीले भने ।

मुसुरोको घट्दो निर्यातले नेपाल–बंगलादेशबीचको व्यापारमा समेत प्रत्यक्ष असर पुगेको उनको भनाई छ । कृषिजन्य वस्तु भएकाले दाल निकासीमा नेपाल सरकारले भ्याट छुट दिएको छ । तर, व्यवसायीहरूले मुसुरो दाल निर्यातका क्रममा अनिवार्य रुपमा खाद्य प्रयोगशालाको सिफारिस पेश गर्नुपर्ने भन्सार अधिकारीहरू बताउँछन् । व्यवसायीले खाद्य प्रयोगशालाको सिफारिस पेश गरेपछि निकासी महशुलवापत प्रति एसेसमेन्ट १ सय १३ रुपैयाँबाहेक अन्य रकम बुझाउनु नपर्ने भन्सारले जनाएको छ । तेस्रो मुलुकबाट आयात भएको दालमा कृषि छुटमा १० प्रतिशत महशुल बुझाउनुपर्छ । नेपालमा उत्पादित मुसुरो दालको माग बंगलादेशमा अत्यन्तै भएपनि माग अनुसार पूर्ति गर्न नसकिएको नेपाली सरकारी अधिकारीहरूको भनाई छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्