बिर्तामोड, चैत २२ । बिर्तामोड ३ स्थित बिर्ताबजारमा दुई दिनअघि अटो दुर्घटना हुँदा बिर्तामोड ९ बस्ने ३६ वर्षीय भिमबहादुर तामाङको मृत्यु भयो । त्यस्तै ३१ वर्षीया सामना लिम्बू गम्भीर घाइते भइन् ।

बिर्तामोड नगरपालिका अगाडि तीब्र गतिका कारण अटो अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएको थियो । बिर्तामोड बजार क्षेत्रमा अटोरिक्साको संख्या बढेसँगै दुर्घटना पनि बढ्न थालेको हो ।

अटोका कारण दुर्घटना बढ्नुका साथै ट्राफिक व्यवस्थापनमा समेत समस्या थपिएको छ । यसैलाई मध्यनजर गर्दै बिहीवार बिर्ताबजारमा दुर्घटना न्यूनीकरण सचेतना कार्यक्रम तथा अटो चालकका समस्याका बारेमा अन्तरक्रिया गरिएको छ ।
बजारमा अटो सञ्चालनमा आएसँगै सर्वसाधारणको दैनिकी सहज भएपनि दुर्घटनाको जोखिम भने अत्यधिक देखिएको बिर्तामोड नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष मदन बुढाथोकीले बताए ।

कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष बुढाथोकीले लापरवाही तरिकाले तीब्र गतिमा अटो चलाउँदा दुर्घटना भए चालकसहित यात्रुलाई क्षति हुने हुँदा चालकलाई सचेत हुन आग्रह गरे । उनले दैनिक जीवन गुजारा गर्न अटो चलाउने चालक दुर्घटनामा परे आर्थिक भारसंगै शारीरिक अंगभंग हुने तथा मृत्यु समेत हुने हुँदा सचेत बन्नु पर्ने धारणा राखे ।

पूर्वेली मजदुर यातायात प्रा.लि.को आयोजना तथा बिर्तामोड ३ नं वडा कार्यालयको समन्वयमा भएको कार्यक्रममा अटो रिक्सा चालकहरूले लापरबाहीका साथ अटो चलाउने, जथाभावी बाटो काट्ने र बीच सडकमै मोड्नेजस्ता कारणले गर्दा सडक दुर्घटना बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक पूर्ण गौतमले बताए ।

कार्यक्रममा ट्राफिक सचेतना प्रदान गर्दै उनले चालकलाई ट्राफिक नियम पालना गरी संयमित भएर अटो चलाउन आग्रह गरे ।
सडक पहुँचको तुलनामा अधिक संख्यामा अटो रहेकाले ट्राफिक व्यवस्थापनमा समेत कठिनाइ भएको उनले बताए ।

पूर्वेली यातायात मजदुर प्रा.लि.का अध्यक्ष हरि बाँस्कोटाको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष बुढाथोकीसहित बिराट बहुउद्देश्यीय सहकारी संस्थाका प्रबन्धक रुद्र सिटौला, हिमालय इन्स्योरेन्सका सुशील थापाले मन्तब्य राखेका थिए ।
कार्यक्रममा स्थानीय युवा कोशिस घिमिरे, बिर्ताबजार प्रहरी चौकीका असई राजेश पौडेल, सभामुख देवराज घिमिरेका सचिवालय सदस्य हिमाल मैनालीलगायतको आतिथ्यता रहेको थियो ।

पूर्वेली यातायातका सचिव गणेश कोइरालाले सञ्चालन गरेको कार्यक्रममा स्वागत पूर्वेली यातायातका सल्लाहकार धनसिंह राजवंशीले गरेका थिए । कार्यक्रममा पूर्वेलीमा आबद्ध चालकलाई प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा १ सय बढी चालक सहभागी थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्