झापा, चैत २४ । पछिल्लो समय लागूऔषध प्रयोगकर्ता र कारोबारीहरुले झापा गाउँपालिकाको सीमा नाकालाई लागूऔषध भित्र्याउने वैकल्पिक बाटोको रुपमा उपयोग गर्न थालेका छन् ।

काँकरभिट्टा र भद्रपुर नाकामा कडाइ गर्न थालेपछि झापा गाउँपालिकाको सीमा नाकालाई विकल्पको रुपमा प्रयोग गर्न थालेका हुन् । कारोबारीहरुले भारतबाट भित्र्याउन लागेको १३० ग्रामभन्दा बढी ब्राउनसुगर दुई दिनमा प्रहरीले पक्राउ गरेको छ ।

हिजो दिउँसो १ बजे सशस्त्र प्रहरीले झापा गाउँपालिकाको सितुमारी ईलाकाबाट भारत किशनगञ्ज धनतोला ग्रामपञ्चायत बालुवाडी बस्ने वर्ष २३ का राहुल मण्डललाई पक्राउ गरेको थियो । उनको साथबाट ४८.५५० ग्राम ब्राउनसुगर बरामद भएको थियो ।

त्यस्तै राति २ बजे झापा गाउँपालिका ४ लसुनास्थित सीमाक्षेत्रबाट ६३.५९ ग्राम ब्राउनसुगरसहित बरामद भएको थियो ।ब्राउनसुगरसहित पक्राउ पर्नेमा झापा गाउँपालिका ७ बस्ने २५ वर्षीय सुनिराम हेमरम र सोही ठाउँ बस्ने २१ वर्षीय हिरण राजवंशी रहेको सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण हेडक्वाटर झापाका डीएसपी तथा सूचना अधिकारी दिनेश कटुवालले जानकारी दिए ।

त्यसैगरी हिजो दिउँसो ३.४५ बजेको समयमा झापा गाउँपालिका १ स्थित लसुना नाकाबाट १९ ग्राम १७० मिलिग्राम ब्राउनसुगर बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको सयुक्त प्रहरी टोलीले शंका लागेर नम्बर नभएको निलो कलरको टीभीएस मोटरसाईकललाई चेकजाँच गर्दा मोटरसाइकल चालक झापा गाउँपालिका १ बस्ने अन्दाजी १७ वर्षीय शिवकुमार मुर्मूले मोटरसाईकल छाडी भागेका थिए ।

उक्त मोटरसाइकल नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय कुमरखोदमा ल्याई राखेको र आज बिहान १०.१५ बजेको समयमा मुर्मू सोहि स्थानमा हिडिरहेको अवस्थामा नियन्त्रणमा लिई सोधपुछ गर्दा उनले झापा गाउँपालिका १ लसुनास्थित मकैबारीमा लागूऔषध लुकाई छिपाई राखेको भनेको आधारमा प्रहरी टोलीले उक्त स्थानमा खोजतलास प्लाष्टिकबाहेक १९ ग्राम १७० मिलिग्राम ब्राउनसुगर बरामद भएको थियो । उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कुमरखोदमा ल्याई राखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्