झिलझिले, चैत २४ । झापाको शिवसताक्षी नगरपालिकाको ठूलो निजी विद्यालय सेभेनसिज अंग्रेजी माध्यमिक विद्यालयले कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूलाई विदाई गरेको छ ।


विद्यालयबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० मा सहभागी भएका विद्यार्थीहरूलाई शनिवार एक औपचारिक कार्यक्रमका बीच मायाको चिनो प्रदान गरेर विदाई गरिएको विद्यालयका प्रधानाध्यापक दीपक कडरियाले बताए । सो विद्यालयबाट ५६ जना विद्यार्थीले एसईई परीक्षा दिएका थिए ।

विद्यालय प्रशासनका अनुसार अधिकांश विद्यार्थीले पूर्व प्राथमिक तहदेखि विद्यालयमा अध्ययन गर्दै आएका थिए । तेह्र वर्षसम्मको शिक्षाले आफू यो मुलुकको योग्य नागरिक कहलाउन सफल हुने विद्यार्थी सरस्वती संग्रौलाले बताइन् । उनले भावुक हुँदै भनिन्,‘ विद्यालय छोड्न मन नहँुदा नहुँदै छोड्नु पर्यो ।’

‘शिक्षक, शिक्षिका, विद्यालय कर्मचारी, संचालकको माया बुवा आमाको भन्दा कम थिएन ’ उनले भनिन् ‘विदाईको टिका र मायाको चिनो ग्रहण गर्दा सर गुरुआमाको मायाले निकै पीडा भएर आँखाको डिल पनि डम्म भरियो ।’ अनिषा भण्डारी र दिक्षा मगरले पनि कार्यक्रममा सहभागी अतिथि, शिक्षक, समकक्षी विद्यार्थी र अभिभावकलाई विदाई हुँदाको पीडा आफ्नै शव्दमा सुनाए । उनीहरुको भाषण कला सुनेर अधिकांश अतिथि र अभिभावक नतमस्तक भएका थिए । अनिषाले भनिन्,‘विछोडिँदा मन भारी हुँदो रहेछ । सर गुरुआमाले दिनुभएको शिक्षा र माया जीवनमा कहिल्यै भुल्ने छैन । यहाँको शिक्षाले मेरो जीवनको दोस्रो अध्याय सुरु भएको छ ।’

विगतका वर्षहरूमा समेत यस विद्यालयले एसईईमा उत्कृष्ट नतिजा ल्याउन सफल हुँदै आएको थियो । औपचारिक शिक्षासंगै व्यवहारिक शिक्षामा पनि जोड दिन थालेको यस विद्यालयमा एक हजारको हाराहारीमा विद्यार्थी अध्ययनरत छन् । लामो समय शिक्षण पेशामा आवद्ध तालिम र अनुभव प्राप्त शिक्षक शिक्षिका कार्यरत सेभेनसिज अंग्रेजी माध्यमिक विद्यालय नगरको अब्बल विद्यालयको रुपमा परिचित छ ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दिपक कडरियाले एसईई परीक्षामा सहभागी हुने विद्यार्थीहरूलाई विदाई गर्दै उज्ज्वल भविष्यको कामना गरेका थिए । उनले यसअघि पनि सेभेनसिज अंग्रेजी माध्यमिक विद्यालयबाट पास आउट भएका अधिकांश विद्यार्थीले आफ्नो विद्यालयको गरिमालाई उच्च बनाउन सफल भएको बताए ।
उनले भने,‘ विद्यार्थीको मेहनत, शिक्षकको सिकाई कला र अभिभावकको हौसलाले यहाँबाट उत्पादन भएका विद्यार्थी यो मुलुक र विश्वका जुनसुकै देशमा पनि अब्बल रहेको जानकारी छ । तपाईहरुले पनि अबको शैक्षिक भविष्य उज्वल बनाउन कुनै कसर बाँकी राख्नु हुने छैन ।’

विद्यालयका प्रिन्सिपल दीपक कडरियाको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक नरपति ढकालले स्वागत मन्तव्य राखेका थिए । शिक्षक राम भेटवाल, पत्रकार विनोद सापकोटा, अभिभावक सुबिल न्यौपानेलगायतले गुणस्तरीय शिक्षाका लागि सेभेनसिज अंग्रेजी माध्यमिक विद्यालय नगरको अब्बल संस्थागत विद्यालय रहेको बताए । कार्यक्रममा विद्यालयकी संस्थापक सदस्य ज्योति राईको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्