अर्जुनधारा, चैत २५ । मिर्गौलापीडित अर्जुनधारा ५ की ३० वर्षीया केशवती राजवंशीको उपचारका लागि सहयोग जुट्न थालेको छ ।

खाने बस्ने र उपचार खर्चको समस्या भएपछि उनको उपचारका लागि आर्थिक संकलन गर्न केशवती राजवंशी बचाउ अभियान शुरु गरिएको छ । आफूहरुले ९ हजार ६०५ रुपैयाँ सहयोग संकलन गरेको अभियानका संयोजक ताराप्रसाद बरालले बताए । त्यस्तै कमल ५ का नन्दलाल भुजेलले २४ हजार ५०० रुपैयाँ संकलन गरेका छन् । अन्य सहयोगीहरुले पनि सहयोग गर्ने क्रम जारी रहेको छ । दुवै मिर्गौला खराव भएपछि उपचारका लागि सहयोग गर्न केशवतीले अपिल गरेकी छिन् । सात बर्षअघि श्रीमानसँग सम्बन्ध बिच्छेद भएपछि छोरीको भविष्यका लागि बैदेशिक रोजगारको सिलसिलामा दुबई गएकी केशवती ५ महिना अघिदेखि दुवै मिर्गौला खराब भएर मुटुमा पानी जमेको बताउँछिन् ।

श्रीमानसँग सम्बन्ध बिग्रेपछि अर्जुनधारा–५ फूलबारीमा दिदी राजुवती र आमा गाजली राजवंशीको घरमा आश्रय लिएर बस्दै आएकी केशवती ३ बर्षअघि छोरीलाई दिदीको घरमा छोडेर दुबई गएकी थिइन् । दुबईको एक रेष्टुरेन्टमा वेटर्सको काम गर्दै आएकी उनलाई स्वास्थ्यमा समस्या भएपछि ५ महिनाअघि परीक्षण गराउँदा चिकित्सकले दुबै मिर्गौला फेल भएको बताएका थिए । आर्थिक अवस्था एकदमै कमजोर भएकी केशवतीकी १३ बर्षिया छोरी बिर्तामोड–१ स्थित चारपानेमा रहेको एसेन्ड एकाडेमीमा कक्षा ६ मा अध्ययनरत छिन् । ‘५ महिनाअघि दुबईमा परीक्षण गराउँदा रोग पत्ता लाग्यो’ केशवतीले भनिन् ‘स्वास्थ्यमा समस्या भएपछि नेपाल फर्किएँ ।’ उनले अहिलेसम्ममा दुबईमा रहँदा बचत गरेको २ लाखबढी रुपैयाँ आफ्नो उपचारमा खर्च भइसकेको बताइन् । हप्तामा दुई पटक डायलोसिस गर्नु पर्ने बताउँदै केशवतीले भनिन् ‘एक पटक डायलोसिस गर्दा करिब ५ हजार रुपैयाँ खर्च हुन्छ ।’ तर, हाल नगरपालिकाले डायलोसिस निःशुल्क गरेपछि औषधीलगायतमा गरेर केही रकम कम भएको बताइन् ।

उनले देश तथा बिदेशमा रहेका आफन्त, छरछिमेक, सहयोगी मनसँग छोरीको लागि भएपनि आफू बाँच्न चाहेकाले आर्थिक सहयोग गरेर आफ्नो जीवन बचाइदिन सबैमा अनुरोध गरेकी छिन् ।सहयोग गर्न चाहनेले उनको नेपाल बैंक लिमिटेड बिर्तामोड शाखामा भएको नाम केशवती राजवंशी र खाता नम्बर ०८८१०८०७६४६५७७०००००१ मा सहयोग गर्न सकिनेछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्