झिलझिले, चैत २५ ।शिवसताक्षी नगरपालिका वडा नम्बर ८ को डुडामारीस्थित निम्बस अंग्रेजी माध्यमिक विद्यालयले सैद्धान्तिक शिक्षासंगै आगामी शैक्षिक सत्रदेखि विद्यार्थीलाई ब्यवहारिक शिक्षा पनि प्रदान गर्ने भएको छ ।


अभिभावकहरुले अहिलेको अबस्थामा व्यवहारिक शिक्षा पनि अपरिहार्य भएको भनेपछि विद्यालयले व्यवहारिक शिक्षालाई जोड दिने भएको हो । शनिवार विद्यालय परिसरमा अभिभावक, शिक्षक, विद्यालय संचालकसहितको भेलाले विद्यालयमा व्यवहारिक शिक्षा पनि लागु गर्ने निर्णय गरेको विद्यालय प्रशासनले जनाएको छ ।

नयाँ शैक्षिक सत्रदेखि निम्बस अंग्रेजी माध्यमिक विद्यालयमा कक्षा ९ मा पनि अध्ययन अध्यापन हुने भएको विद्यालयका प्रिन्सिपल राजु बुढाथोकीले बताए ।

प्रिन्सिपल बुढाथोकीले अहिलेको शिक्षा आत्मनिर्भर, व्यवसायी बनाउनुपर्ने बताउँदै समय भूगोल चिन्ने खालको शिक्षा विद्यालयले प्रदान गर्ने बताए । प्रिन्सिपल बुढाथोकीले भने,‘ बजारकेन्द्रित शिक्षालाई व्यवहारिक शिक्षाको माध्यमबाट ग्रामीण भेगसम्म पुर्याउने लक्ष्य विद्यालयको छ ।’

उनले थपे,‘अहिलेको शिक्षा बजारकेन्द्रित भएको छ । गाउँको शिक्षालाई प्रभावकारी बनाउन निम्बस अंग्रेजी माध्यमिक विद्यालयले आवश्यक पूर्वाधार खडा गरिसकेको छ ।’

खुल्ला वातावरण, खेलमैदान, कम्प्युटर प्रयोगशाला, स्काउट ट्रुप, जुनियर रेडक्रस, तालिमप्राप्त शिक्षक शिक्षिका, बालमैत्री निम्बस स्कूलले सामाजिक उत्तरदायित्वअन्तर्गत बार्षिक रुपमा विभिन्न रचनात्मक कार्यक्रम संचालन गर्दै आएको छ ।
स्थानीय अभिभावकका अनुसार स्तरीय पाठ्यपुस्तक छनौट, कलात्मक सिकाइ विधि र अतिरिक्त क्रियाकलापका कारण निम्वस माध्यमिक विद्यालय आफूहरुको पहिलो रोजाई हुन थालेको छ । कक्षा ८ की छात्रा जेनिसा कार्कीका अभिभावक सीता कार्कीले आफ्नो नानीले तमसुक, भर्पाइ, वडा कार्यालयमा लेखिने निवेदनलगायतका घरायसी कागज लेख्न सक्ने भएकीमा गर्व लागेकोे बताईन् ।

सर्वसुलभ लगानी, सैद्धान्तिकसहित व्यवहारिक शिक्षा आजको आवश्यकता भन्ने मुल सन्देश दिँदै आएको निम्बसले आगामी शैक्षिक सत्रका लागि नयाँ भर्नाका लागि आवेदन खुल्ला गरेको विद्यालय प्रशासनले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्