बिर्तामोड , चैत २५ । बिर्तामोड १० नं वडा खेलकुद बिकास समितिको आयोजनामा संचालित चौथो संस्करणको वडाअध्यक्ष टोल स्तरीय फुटबल प्रतियोगिताको उपाधि उदय रत्न + तोरीबारी + शिवालय टोलको संयुक्त टिमले हात पारेको छ ।

आइतबार भएको फाईनल खेलमा तेलकानी +हाम्रो तेलकानी +सिद्धिबिनायक टोललाई ४ – १ को फराकिलो गोल अन्तरले हराउँदै विजयी बनेको हो ।विजयी टिमले नगद ३१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पायो भने उपविजेता टिमले नगद २१ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।
खेलको सुरुवातदेखि नै आक्रामक देखिएको उदय रत्न + तोरीबारी + शिवालय टोलको संयुक्त टिमका तर्फबाट खेल सुरु भएको २ मिनेटमै जर्सी नं ८ का देव मगरले गोल गर्दै खाता खोले ।

त्यस्तै खेलको १० औ मिनेटमा डिबक्स एरियामा पाएको मौकालाई जर्सी नं ११ का बसन्त शेर्पाको पासमा जर्सी नं ८ का देव मगरले पुनः गोल गर्दै २ – ० को स्थिति बनाए । त्यस्तै खेलको १७ औ मिनेटमा उदय रत्न + तोरीबारी + शिवालय टोलको संयुक्त टिमका तर्फबाट जर्सी नं १० का रमेश भण्डारीले थप गोल गर्दै टिमलाई ३ – ० स्थितिमा पुरÞ्याए । खेलको २८ औ मिनेटमा जर्सी नं १७ का भुवन सुन्दासले थप गोल गर्दै टिमलाई ४–० को गोल अन्तरमा खेल पुरÞ्याए ।
त्यस्तै दोस्रो हाफको ९ औ मिनेटमा उदय रत्न + तोरीबारी + शिवालय टोलका डिफेन्डरले डिएरिमामा धकेल्दा पाएको फल्टमा पेनाल्टी सुटआउट मार्फत तेलकानी +हाम्रो तेलकानी +सिद्धिबिनायक टोलका जर्सी नं १९ का विशाल हेमरमले सान्त्वना गोल गरेका थिए ।

खेल उदय रत्न + तोरीबारी + शिवालय टोलको संयुक्त टिमले तेलकानी +हाम्रो तेलकानी +सिद्धिबिनायक टोललाई दबावमा राख्दै गोल गर्ने पटक पटक पाएको मौकालाई विफल बनाईदिए ।

यसैगरी खेलको म्यान अफ दि म्याच विजेता टिमका २ गोल सफल देव मगर घोषित भए ।
खेलको उत्कृष्ट मिडफिल्डर विजेता टिमकै युवराज खड्का, सर्वाधिक गोलकर्ता उपविजेता टिमका विक्रम लिम्बू, उत्कृष्ट गोलरक्षक विजेता टिमका पेम्बा शेर्पा , उत्कृष्ट फरवार्ड विजेता टिमका रमेश भण्डारी, राइजिङ प्लेयर्स सैनिक टोल टिमका प्रशान लाम्गदे, उत्कृष्ट डिफेन्डर विजेता टिमका गणेश लिम्बू, उत्कृष्ट टिम कोच विजेता टिमकै रोशन पौडेल बनेका छन् ।
वितामोड १० नं वडा खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र तुम्रोकको सभापतित्वमा सम्पन्न कार्यक्रममा कोशी प्रदेशका सांसद गोपाल गजमेरको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बिर्तामोड १० का वडाध्यक्ष दुर्योधन गुरुङ, विर्तामोड वडा ६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वा,विर्तामोड वडा–१० न्यायिक समिति सदस्य प्रेम पौडेल ,१० का वडा सदस्य धनमाया श्रेष्ठ , वडा सदस्य दिपिका शिवा ,पूर्व कार्यपालिका सदस्य गिता घिमिरे,पूर्व वडा सदस्य भक्तसिंह राजवंशी,महेन्द्रज्योति माविका प्रधानाध्यापक जयकुमार झा,सिद्धार्थ शिक्षा सदनका संचालक धर्मराज माझीलगायतको आतिथ्यता रहेको थियो ।

खेलाडी उत्पादनमा टेवा पुर्याउने उदेश्यले वडा खेलकुद विकास समितिको आयोजनामा चैत १६ देखि २५ गतेसम्म सञ्चालन भएको चौथो संस्करणको वडाध्यक्ष टोलस्तरीय फुटबल प्रतियोगितामा १० वडाका छानिएका १० टिमको सहभागिता रहेको थियो ।कार्यक्रममा राष्ट्रिय फुटबल टिमका सहायक प्रशिक्षक प्रवेश कटुवाल, राष्ट्रिय खेलाडी उत्सव राईलाई प्रमाणपत्रसहित खादा ओढाएर सम्मान गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्