झापा,चैत २७ । चालु आर्थिक वर्षको पहिलो आठ महिनामा चार हजारभन्दा बढी बालबालिका हराएका छन् । यसरी हराउने बालबालिकामा मधेश प्रदेशबाट सबैभन्दा धेरै रहेका छन् ।

बालबालिका खोजतलास समन्वय केन्द्रका बाल संरक्षण अधिकृत सन्तोषचन्द्र अधिकारीले सबैभन्दा बढी १० देखि १३ वर्षका बालक र १३ देखि १८ वर्षका बालिका हराउने गरेको जानकारी दिए । उनले चालु आव २०८०-८१ को फागुन मसान्तसम्म कुल चार हजार १४१ जना बालबालिका हराएको जानकारी दिए । उनका अनुसार पछिल्लो आठ महिनामा हराएका चार हजार १४२ जनामध्ये तीन हजार ५३५ जना फेला परेका छन् भने ६०७ जना बालबालिकाको खोजतलास जारी रहेको समन्वय केन्द्रले जनाएको छ ।

“मधेश प्रदेश सबैभन्दा बढी जनसंख्या भएको प्रदेश हो । त्यसैमा खुला सिमाना भएकाले धेरैजसो बालबालिका भारत छिर्ने र उतै हराउने गर्छन् । बालबालिका घर छाड्नुको मुख्य कारण पारिवारिक विखण्डन नै हो । परिवारमा बाबुआमा जाँडरक्सी खाने, झैझगडा गर्दा बालबालिकाले घर छाड्छन्,” बाल संरक्षण अधिकृत अधिकारीले भने । उनले परिवारका श्रीमान् वा श्रीमतीले दोस्रो विवाह गर्दासमेत घरमा बस्ने वातावरण नहुँदा बालबालिकाले घर छाड्ने गरेको बताए ।

वैदेशिक रोजगारीले विप्रेषण आयमा वृद्धि हुँदा परिवारको आर्थिक अवस्था राम्रो भए पनि नकारात्मक असर पनि देखिने गरेको चर्चा गर्दै उनले भने, “तर अर्कोतिर यसको नकारात्मक पाटो परिवार र समाजमा देखिने नदेखिने धेरै खालका असर छन् । वैदेशिक रोजगारीमा भएका परिवार छोराछोरी सहरमा पढाउन ल्याउँदा धेरै बालबालिका हराउने गरेका छन् ।”

सरकारी तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८०-८१ को फागुन मसान्तसम्ममा मधेश प्रदेशबाट १४२ बालक र ७४२ बालिका गरी कुल ८८४ जना हराएका छन् । कोशी प्रदेशबाट ५७० जना हराएकोमा ५१२ जना फेला परेका छन् भने ५८ जना अझै भेटिएका छैनन् । बागमती प्रदेशबाट कुल ६२९ जना हराएकोमा ६६४ फेला परेका छन् भने ६५ जना खोजीको सूचीमा छन् ।

यस्तै गण्डकी प्रदेशबाट ३०४ जनामध्ये २८१ फेला परिसकेका छन् भने २३ जना खोजीको सूचीमा छन् । लुम्बिनी प्रदेशबाट कुल ७७९ जना हराएकोमा ६६३ जना फेला परेका छन् भने जम्मा ११६ जना खोजतलासको सूचीमा छन् । कर्णाली प्रदेशबाट कुल २७० जना हराएकोमा २४३ जना फेला परेका छन् भने २७ जना खोजीको सूचीमा छन् । सुदूरपश्चिम प्रदेशबाट कुल ४०२ जना हराएकोमा ३६७ जना फेला परेका छन् भने ३५ जनाको खोजी कार्य जारी छ ।

सरकारी तथ्याङ्कमा हराउने बालबालिकाको संख्या धेरै देखिए पनि भेटिनेको संख्या पनि उत्तिकै देखिने गरेको छ । यसरी हराएर नभेटिएका बालबालिका घरेलु कामदार, होटल रेस्टुरेन्ट, गाडीमा सहचालकलगायत पेशामा लाग्ने गरेको अधिकृत अधिकारीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्