झापा,चैत २८ । झापाको दमकमा भएको आगलागीबाट २ करोड ४८ लाख ३० हजार बराबरको क्षति भएको छ ।

प्रहरीको प्रारम्भिक क्षति संकलनबाट सो क्षति देखिएको हो । हिजो साँझ अन्दाजी ७.२५ बजेको समयमा दमक नगरपालिका वडा न.५ लाईफलाईन अस्पताल छेउमा बस्ने प्रेम धिमालले घरमा संचालन गरेको स्नेहा होटलमा इन्भर्टरको लाईन सर्ट भई अचानक आगलागी भएको थियो ।

आगलागीबाट धिमालको काठ , टिनको बेरा र टिनकै छानो भएको एकतले घर, घरमा रहेको सुन ३५ तोला,लत्ताकपडा,भाँडावर्तन,खाटपात,फर्निचर,फ्रिज २ वटा,ईन्भर्टर थान–१,नगद रु.४ लाखसमेत गरी अन्दाजी ७९ लाख ९०हजार बराबरको क्षति भएको छ ।त्यस्तै रामवती भुजेलको पक्की वाल र टिनको छानो भएको एकतले घरमा आंशिक क्षति हुँदा अन्दाजी ५ लाख बराबरको क्षति भएको छ ।

त्यस्तै हल्दीबारी गाउँपालिका वडा न.५ घर भई हाल दमक ५ मा रुवि होटल संचालन गरिरहेका मेखबहादुर तामाङको टिनको छानो, टिन र तारको जालीको बेरा भएको एकतले घर , भाँडाबर्तन,लत्ताकपडा,फर्निचर,चामल,दाल,पेय पदार्थ,ल्यापटप थान–१,सुन १२ आना, होटलमा रहेको अन्य सरसामानसमेत गरी अन्दाजी १३ लाख ४०हजार बराबरको क्षति भएको छ ।
आगलागीबाट सोही ठाउँमा रहेको लाइफलाईन अस्पतालको डाईलोसिस वार्डको झ्यालबाट आगो पसी ६ वटा डाईलोसिस मेसिन, ३ वटा एसी, एउटा सीसी क्यामेरा ,मेडिकल उपकरण गरी जम्मा १ करोड ५० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उक्त आगलागी दमक नगरपालिकाको २ वटा ,कमल गाउँपालिका,गौरादह नगरपालिका, पथरी शनिश्चरे नगरपालिका र उर्लाबारी नगरपालिकाको १–१ वटा गरी जम्मा ६ वटा दमकल,इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी नायब उपरीक्षकको कमाण्डमा २० जना र सशस्त्र प्रहरी गण पाडाजुंगीबाट सशस्त्र प्रहरी उपरीक्षकको कमाण्डमा २५ जनाको टोली तथा स्थानीयहरुको सहयोगमा राति ८.२५ बजे पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्