झापा , चैत २८ । नेपाल चेम्बर अफ कमर्श झापालाई उत्कृष्ट बनाउन सफल ओमकृष्ण बिमली संस्थाको केन्द्रीय सदस्यमा सर्वसम्मत निर्वाचित भएका छन् ।

नेपाल चेम्बर अफ कमर्शको ७३औं साधारण सभाबाट नेपाल अलैँची व्यवसायी महासंघका सल्लाहकारसमेत रहेका बिर्तामोड ५ निवासी समाजसेवी बिमली केन्द्रीय सदस्य चयन भएका हुन् । साधारण सभाबाट नेपाल चेम्बर अफ कमर्शको अध्यक्षमा कमलेशकुमार अग्रवाल निर्वाचित भएका छन् । विधान अनुसार चेम्बरको ७३ औं साधारणसभाबाट निर्वाचित कार्यसमितिले अग्रवाललाई अध्यक्षमा चयन गरेको हो । अग्रवाल यसअघि चेम्बरको वरिष्ठ उपाध्यक्ष थिए ।
\

यसैगरी वरिष्ठ उपाध्यक्षमा दीपक मलहोत्रा निर्वाचित भएका छन् भने उपाध्यक्षहरुमा वाणिज्यतर्फ उर्मिला श्रेष्ठ, उद्योगतर्फ दीपक श्रेष्ठ, जिल्लानगरतर्फ सन्तोषकुमार पाण्डे, वस्तुगततर्फ सुरेन्द्रकुमार श्रेष्ठ, संस्थागत द्विराष्ट्रियबाट निलकण्ठ चौलागाईँ र मानार्थ उपाध्यक्षमा अर्जुनप्रसाद शर्मा निर्वाचित भएका छन् ।

यसैगरी प्रदेश अध्यक्षहरुमा कोशीबाट सुरेशमान श्रेष्ठ, मधेशबाट अमरनाथ गुप्ता, बागमतीबाट सिद्धिलाल श्रेष्ठ, गण्डकीबाट किसान सुनार, लुम्बिनीबाट टंकप्रसाद पोखरेल, कर्णालीबाट लक्ष्मण न्यौपाने र सुदुरपश्चिमबाट विनोद मल्ल सर्वसम्मत रुपमा चयन भएका छन् ।
यसैगरी चेम्बर नयाँ कार्यसमितिले सदस्यहरुमा लीमा अधिकारी, नयन बहादुर खत्री र सुशान कर्माचार्यलाई सदस्यमा मनोनित गरेको छ ।
चेम्बरको विधान अनुसार विभिन्न क्षेत्रअन्तर्गत सदस्यहरु सर्वसम्मत निर्वाचित भएका छन् ।

साधारण सभाबाट नेपाल चेम्बर अफ कमर्श झापालाई उत्कृष्ट जिल्लाको रुपमा सम्मानित गरिएको थियो । चेम्बरको संगठन विस्तार तथा जिल्ला चेम्बरको गतिविधिलाई उत्कृष्ट बनाउन उल्लेखनीय भूमिका खेलेको भन्दै नेपाल चेम्बर अफ कमर्श झापाका अध्यक्ष बिमलीलाई दोसल्ला र सम्मानपत्रले सम्मानित गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्