झापा,चैत २८ । बाह्र वर्षमा लाग्ने पिण्डेश्वर महाकुम्भ मेला सुरु भएसँगै दर्शनार्थी भक्तजनका लागि एक महिने निःशुल्क हेल्थ डेस्क राखिएको छ ।

नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति, क्षेत्र १, सुनसरीले धरानस्थित ऐतिहासिक पवित्र धार्मिकस्थल पिण्डेश्वर मन्दिर परिसरमा कांग्रेसको क्षेत्रीय स्वास्थ्य विभागको संयोजनमा सो हेल्थ डेस्क राखिएको हो ।

कांग्रेस प्रदेश सभा १ (१), १ (२), धरान नगर, १४ नं. वडा र नेपाल महिला सङ्घ, प्रदेश सभा १ (१), १ (२), धरान नगर कार्यसमिति, पिण्डेश्वर बाबाधाम व्यवस्थापन समिति र सानिमा रिलायन्स लाइफ ईन्स्योरेन्स, धरानको सहयोग एवम् अमर पोलिक्लिनिक धरान–१८ को प्राविधिक सहयोगमा एक महिने निःशुल्क हेल्थ डेस्क सुरु गरिएको छ ।

महाकुम्भ मेलामा टाढा–टाढावाट ठुलो सङ्ख्यामा भक्तजन आउने र विविध कारणले बिरामी पर्न सक्ने दर्शनार्थीलाई केन्द्रित गरी महाकुम्भ मेला अविधिभर निःशुल्क हेल्थ डेस्क राखिएको कांग्रेस सुनसरी –१ का क्षेत्रीय सभापति सुजेन्द्र तामाङले बताए ।

कांग्रेस नेता पूर्व केन्द्रीय सदस्य गुरुराज घिमिरेले दर्शनार्थी भक्तजनको अचानक स्वास्थ्यमा समस्या आउन सक्ने अवस्था रहने हुँदा स्वास्थ्य सुविधा र स्वास्थ्य रहन मद्दत गर्ने जनचेतनामूलक पर्चासहित स्वास्थ्य शिविर राखेर मानवीय सेवाको काम गरेको भन्दै हेल्थ डेस्कको प्रशंसा गरे ।

हेल्थ डेस्क सुरुवात गरेकै दिन १२३ जना दर्शनार्थी भक्तजनले स्वास्थ्य परीक्षण गराएको कांग्रेसका क्षेत्रीय स्वास्थ्य विभाग प्रमुख शिखा चेम्जोङले बताइन्। स्वास्थ्य परीक्षण गर्ने काममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका चिकित्सक नर्स तथा स्वास्थ्यकर्मी समेत सहभागी भएका थिए ।

दर्शनार्थी भक्तजनले स्वास्थ्यप्रति चिन्तित भएर एक महिनासम्म सञ्चालन हुनेगरी हेल्थ डेस्क राखेर नेपाली कांग्रेसले राम्रो काम गरेको बताएका छन् । हेल्थ डेस्क सञ्चालन तथा व्यवस्थापनमा कांग्रेसका धरान नगर उपसभापति तथा १८ नं. वडा अध्यक्ष नरेन्द्रकुमार राई (प्रविन), ३ नं. वडा अध्यक्ष विद्या शाक्य, क्षेत्रीय सल्लाहकार तथा प्रदेश सम्मेलन सदस्य गोविन्द बस्नेत, प्रदेशसभा १ (१) कोषाध्यक्ष रमिना सुब्बा गुरुङ, नेपाल तरुण दल धरान नगर अध्यक्ष रामकुमार तामाङलगायतले सहयोग गरे ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्