मेचीनगर, चैत २९ । करिव एक दशक अघिदेखि झापाको मेचीनगरमा सञ्चालनमा रहेको धनेश फर्निचर उद्योगले मेचीनगरमै पहिलो पटक फर्निचरका सामान सेल्स उत्सव सञ्चालन गर्ने भएको छ ।

बिहीवार होटल मेची क्राउनमा पत्रकार सम्मेलन गर्दै उद्योगले नयाँ वर्ष २०८१ को शुरुवातसँगै बैशाख ३ देखि १८ गतेसम्म १५ दिने सेल्स उत्सव आयोजना गर्ने जानकारी दिएको हो । उद्योग २०७० सालदेखि संचालनमा छ ।
उद्योगका सञ्चालक मुन्ना मण्डल र सेल्स उत्सवका सहजकर्ता ओमप्रकाश खापुङले आर्थिक क्रियाकलाप बढाउने लक्ष्यका साथ मेचीनगर —७ स्थित इटाभट्टामा ‘प्रथम फर्निचर सामान सेल्स उत्सव’ आयोजना हुने जानकारी दिए । नयाँ वर्ष २०८१ का अवसरमा आर्थिक समृद्धिका लागि फर्निचरका घरायसी सामानप्रति मानिसको आकर्षण गराउन स्थानीय वस्तु, कला, एवम् नवउद्यमीलाई बजारीकरणका साथै पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्घेश्यका सेल्स उत्सव आयोजना गर्न लागिएको सहजकर्ता खापुङले पत्रकार सम्मेलनमा जानकारी दिए ।

१५ दिनसम्म चल्ने सेल्स उत्सवमा अहिलेको मूल्यमा सामान हेरी २५ देखि ३० प्रतिशतसम्म छुटको व्यवस्था मिलाइएको सञ्चालक मण्डलले जानकारी दिए । परिमाणमा भन्दा पनि गुणस्तरमा ध्यान दिदैं ग्राहकको मन जित्न सफल यस उद्योगबाट उत्पादन भएका फर्निचरका सामान विश्वसनीय तथा ग्यारेन्टीका साथ उपलब्ध हुने सञ्चालक मण्डलको भनाई छ । यो अवधिमा करिव १ करोडसम्मको कारोवार हुने विश्वास आयोजकको छ । यस उद्योगबाट खरिद गरिएका हरेक सामान मेचीनगर क्षेत्रभित्र निःशुल्क ढुवानीको व्यवस्था रहेको उनको भनाई छ ।

महोत्सवको मुख्य आकर्षणका रूपमा अत्याधूनिक आकर्षकका सोफासेट, पलङ, डाइनिङ सेट, बक्स पलङ,, थ्रीपीस, उच्चकोटीका र चर्चित ब्राण्डका स्टिलका दराजसहित इलेक्ट्रोनिक्सका विभिन्न सामान रहने आयोजकले जानकारी दिएको छ । यो उत्सवले खरिदकर्ता र उत्पादकबीच भेटघाट, लगानीकर्ता र उद्यमीबीच छलफल समेत हुने आयोजकले जनाएको छ । नगर तथा नगर बाहिरका खरिदकर्ता तथा उत्सव स्थलमा रहेका स्थानीय उत्पादनकर्तासँग भेटघाट गरी स्थानीय उत्पादनको खरिद र दिगो व्यापारका लागि समेत छलफल हुने पनि बताईएको छ । यस्ता उत्सवले कोभिडपछि सुस्ताएका उद्योग व्यवसायलाई चलायमान पार्दै आर्थिक गतिविधिमा समेत टेवा पुग्ने बताइएको छ ।

स्थानीय उत्पादनलाई प्रोत्साहित गर्ने उद्देश्य समेत रहेको उत्सवमा नगरवासीको भीड बढ्ने बताइएको छ । उत्सवलाई अझ रोचक बनाउन अहिले उद्योग परिसरमा स्टल, टेन्टलगायतका निर्माण कार्य धमाधम भईरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्