बिर्तामोड, बैशाख १ ।साहित्य चौतारी झापाले नववर्ष २०८१ सालको शुभकामना आदानप्रदानसहित मासिक सांगीतिक काव्य सभामा पाँच जना अग्रज श्रष्टालाई अभिनन्दन र सम्मान गरेको छ ।

साहित्य चौतारी झापाको रजत वर्ष महाअभियानअन्तर्गत चैत्र महिनाको मासिक सांगीतिक काब्यसभामा पाँच जना अग्रज श्रष्टालाई अभिनन्दन र सम्मान गरिएको हो । कार्यक्रममा अग्रज श्रष्टा तथा साहित्य चौतारी झापाका २०७५ सालको कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ जीवननाथ पोखरेल पन्छी, साहित्य चौतारी झापाका संस्थापक सदस्य तथा सल्लाहकार शिरो सान्दाइ खतिवडालाई अभिनन्दन गरिएको थियो भने वरिष्ठ साहित्यकार विरही अधिकारी, विन्दु दाहाल मुकदर्शक , साहित्य चौतारी झापाकी पूर्व उपाध्यक्ष तथा साहित्य चौतारी झापाले स्थापना गरेको गुरुकुल संगीत विद्यालयकी सञ्चालिका कमला नेम्वाङलाई सम्मान गरिएको थियो ।

उनीहरुलाई साहित्य चौतारी झापाका पूर्व अध्यक्ष केशव आचार्य, सल्लाहकार हरिनारायण भट्टराई, भवानी क्षेत्री, सदस्य चित्रा कोइरालालगायतले वाचन गरेको अभिनन्दनपत्र र सम्मानपत्र , माला, खादा प्रदान गरिएको थियो ।

साहित्य चौतारी झापाका संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठको अध्यक्षता तथा प्रा.डा.गंगाप्रसाद अधिकारीकोे प्रमुख आतिथ्यमा भएको कार्यक्रममा साहित्य चौतारी झापाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक हिम्मत नेम्वाङले स्वागत गरेका थिए ।

साहित्य चौतारीका तत्कालिन सचिव स्व. डिकमान विरहीको शव्द रहेको स्वागत गीत साहित्य चौतारी झापाका संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठसहितका कलाकारले प्रस्तुत गरेका थिए । कार्यक्रमको औचित्यमाथि साहित्य चौतारी झापाका संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठले प्रकाश पार्दै संस्थाको स्थापनाकालदेखि संस्थासंग जोडिएर उल्लेखनीय योगदान गर्ने अग्रज श्रष्टाहरुलाई अभिनन्दन र सम्मान गर्न पाउँदा संस्था आफै अभिनन्दित भएको बताए । कार्यक्रममा साहित्य चौतारीका तत्कालन सचिव स्व. डिकमान विरहीको शव्द र साहित्य चौतारी झापाका संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठको संगीत र स्वर रहेको स्वागत गीतको विमोचन गरिएको थियो ।

साहित्यकार मोक्ष खतिवडा, भुषण हुमागाईं, प्रमोद दाहाल, इलामे जेठो, प्रकाश गौतम, चित्रा पौड्याललगायतले कविता वाचन गरेको कार्यक्रममा रेशिका खड्काले नृत्य प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा स्मयन वजगाईं, विज्ञान डाँगी, रक्षा तिम्सिना, रोहिका तिम्सिना, अर्पण सिटौलालगायतले गीत प्रस्तुत गरेका थिए भने आर्ट स्टुडियो महिला नौमती बाजा समूहले नौमती बाजा बजाएर सबैको मन जितेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्