झापा,बैशाख २ । इलामको कोल्बुङस्थित प्रसिद्ध पाथीभरा मन्दिरमा चैते दशैंको अवसर पारेर सोमबार भण्डारा लाग्ने भएको छ । पाथीभरा मन्दिरमा झापाका ब्यवसायीहरूबाट भण्डारा हुने भएको हो ।

झापाका व्यवसायीहरुको समूह पाथीभरा भण्डारा समिति विर्तामोडले भण्डारामा भक्तजनहरुलाई प्रसाद वितरण गर्ने कार्यक्रम छ । पाथीभरामा यो १८ औ भण्डारा हो ।

हरेक बर्ष असोज शुक्ल पक्ष र चैत्र शुक्ल पक्षमा भण्डारा आयोजना हुँदै आएकोमा यस वर्ष चैत्र शुक्ल पक्षको सप्तमी (फूलपाती)–का दिन सोमबार मन्दिर परिसरमा भण्डारा गरिने आयोजक समितिका सदस्य सन्तोष अग्रवालले बताए । ८ वर्षअघिबाट लगातार सञ्चालन हुँदै आएको यो कार्यक्रम कोरोनाका कारण केही वर्ष बृहत रुपमा हुन सकेको थिएन । अब भने भण्डारालाई निरन्तरता दिइने अग्रवालले बताएका छन् ।

पाथीभरा भण्डारा समूहले पाथीभरा मन्दिर भएको अग्लो डाँडामा स्वच्छ खानेपानीको ब्यवस्था मिलाएको जनाइएको छ । कुटीडाँडास्थित मार्से खोला मुहानबाट बिद्युतीय मोटरको सहायतामा मन्दिर क्षेत्रमा पानी पुर्याइएको थियो । त्यसक्रममा पाथीभरा भण्डारा समूहले उल्लेख्य सहयोग गरेको पाथीभरा समितिका सचिव एगा अर्यालले बताए ।

मन्दिरको थप जिर्णोदार गर्नुपर्ने आवश्यकता रहेकाले सबैसँग राय सुझाब सल्लाह र सहयोग माग गर्ने कि भन्ने बिषयमा पाथीभरा समितिको बैठकमा छलफल हुँदै गरेको पनि सचिब अर्यालले बताए । यसैबीच मन्दिर परिसरको केहि क्षेत्रमा टायल लगाउने तथा रङरोकनमा थप सहयोग गर्ने भण्डारा समितिका सदस्य अग्रवालले जानकारी गराए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्