झापा,बैशाख ३ । बचत फिर्ता नगर्ने झापाको बुद्धशान्तिस्थित जयपुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष घनश्याम भट्टराई पक्राउ परेका छन् ।

फरार रहेका उनलाई सुनसरीबाट आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए । यसअघि गत फागुन २३ गते सोही सहकारीका उपाध्यक्ष नारायण श्रेष्ठ र व्यवस्थापक केशवकुमार भण्डारी पक्राउ परेका थिए ।सहकारीका संचालक तथा व्यवस्थापकको मिलेमतोमा १ करोड ९० लाख रुपैयाँ हिनामिना भएको उजुरीका आधारमा अध्यक्ष भट्टराई ,उपाध्यक्ष श्रेष्ठ र व्यवस्थापक भण्डारीलाई पक्राउ गरिएको डीएसपी चन्दले जानकारी दिए ।

प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयमा जयपुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सञ्चालक तथा व्यवस्थापकविरुद्ध उजुरी परेको थियो । सहकारी रजिष्ट्रार कार्यालयको पत्रअनुसार उनीहरुलाई पक्राउ गरिएको जनाइएको छ । पक्राउ परेका उनीहरुसहित पाँच जनाविरुद्ध उजुरी परेको बताइएको छ ।

शेयर सदस्य तथा बचतकर्ताको रकम फिर्ता गर्न नसक्दा २०७९ भदौदेखि जयपुर सहकारी बन्द छ । २०५९ सालमा स्थापित संस्थामा ४९ लाख ९८ हजार १ सय रुपैयाँ शेयर पुँजी र ३ करोड ८ लाख ६८ हजार १ सय ४४ रुपैयाँ निक्षेप बचत रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्