झापा, बैशाख ९ । झापा जिल्लाका विभिन्न १३ वटा सहकारी संस्थाबाट ३० लाखभन्दा बढी रकम चोरी गर्ने कार्यमा संलग्न ६ जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।

झापा जिल्लाका सहकारी संस्थाबाट विभिन्न मिति, समय र स्थानमा ३० लाख १६ हजार ६८७ रुपैयाँ चोरी गर्ने ६ जनालाई जिल्ला प्रहरी कार्यालयले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको समन्वय र जिल्ला प्रहरी कार्यालय सुन्सरीको सहकार्यमा बैशाख ७ गते इटहरीबाट पक्राउ गरेको थियो । पक्राउ पर्नेहरु मकवानपुर इन्द्रसरोवर गाउँपालिका वडा नं ५ फालेखका एउटै गाउँका हुन् । फालेखका ३० वर्षीय सोमलाल स्याङ्तान , सोही ठाउँका २१ वर्षीय सुनिल भन्ने सन्तबहादुर स्याङ्तान, २२ वर्षीय सुनिल स्याङ्तान,२५ वर्षीय बुद्ध स्याङ्तान,२८ वर्षीय अजय रानामगर र २६ वर्षीय सुजन स्याङ्तान पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए ।

उनीहरुको साथबाट दुईवटा मोटरसाइकल , घर फोड्ने विभिन्न औजारहरु , विभिन्न मोडलका मोबाइलहरु , मुख छोप्ने गम्छा , झोलालगायतका सामानहरु बरामद भएको डीएसपी चन्दले जानकारी दिए । पालैपालो गरेर उनीहरुले झापाका विभिन्न सहकारीहरुमा चोरी गरेका थिए । उनीहरुलाई आज झापा जिल्ला अदालतबाट चोरी कसुरमा ५ दिन म्याद थप गरी अनुसन्धान जारी रहेको डीएसपी चन्दले बताए ।

गत चैत २० गते राति गौरादह ५ मा रहेका तीन वटा सहकारी संस्थामा एकैरात चोरी भएको थियो । स्कुलचौन बजारमा रहेको जनहित सहकारी, महारानी झोडा बचत तथा ऋण सहकारीको चप्रामारी सेवाकेन्द्र तथा चप्रामारीकै साना किसान सहकारी संस्थाको कार्यालय तोडफोड गरि नगद चोरी भएको थियो ।

त्यसअघि गत चैत ५ गते राति गौरादह– ९ बैगुनधुरास्थित शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्थामा चोरी भएको थियो । त्यसको केही दिनअघि हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाको हल्दिवारीको मंगलवारेमा रहेको शाखामा चोरी गर्ने प्रयास भएको थियो । त्यस्तै कर्णाली बचत तथा ऋण सहकारी संस्था बिर्तामोड ४, साना किसान कृषि सहकारी संस्था हल्दिवारी ४, एकता बहुउद्देश्यीय सहकारी संस्था हल्दिबारीलगायतका संस्थामा चोरी र तोडफोडका घटना भएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्