मेचीनगर, बैशाख ९ । ‘मेचीनगर नगरपालिकाको आव्हान, हात्तीपाइले रोगमुक्त नगर हाम्रो अभियान’ भन्ने मुख्यः नारालाई सार्थक बनाउन नगरस्तरीय स्वास्थ्य शाखाले नगरका विभिन्न वडामा हात्तीपाइले रोग, यसबाट बच्ने उपाय तथा रोगका लक्षणलगायतका विविध विषयमा अन्तरक्रियालाई तीब्र पारेको छ । यही बैशाख १६ गतेबाट हात्तीपाईले रोग विरुद्धको औषधि सेवन अभियान शुरु हुँदैछ ।

मंगलबारबाट शुरु भएको हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन कार्यक्रम २०८०÷०८१ नगरपालिका स्तरीय योजना तर्जुमा तथा बहुनिकाय गोष्ठीदेखि अहिले नगरभरिका स्वास्थ्य केन्द्रका प्रमुख र केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीहरुबीच निरन्तर छलफल अन्तरक्रिया भईरहेको छ । अब नगरभित्रका शैक्षिक संस्थाका प्रधानध्यापक, त्यहाँ कार्यरत शिक्षकहरुसँग शाखाले छलफल गर्ने योजना छ । त्यसलगत्तै नगरका वडास्तरमा जनप्रतिनिधि, विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख प्रतिनिधिहरुसँग समेत शाखाले अन्तरक्रिया र छलफल गर्ने स्वास्थ्य शाखा प्रमुख सविता सापकोटा निरौलाले जानकारी दिइन् । मेचीनगरभित्र रहेका ४२ वटा सामुदायिक विद्यालय, ५८ वटा निजी, एउटा मदरसा, तीनवटा गुरुकुल, एउटा इटाभट्टा र २० वटा विभिन्न कलकारखना रहेका छन् । त्यहाँ रहेका सवैलाई यो औषधि खुवाउने बताईएको छ ।

यही बैशाख १६ गतेदेखि हात्तीपाइले रोग विरुद्धको औषधि तालिमप्राप्त स्वास्थ्यकर्मीहरुद्वारा खुवाइने अभियान सञ्चालन हँुदैछ । मेचीनगरमा अभियान सफल पार्न यतिखेर नगरको स्वास्थ्य शाखा सक्रियरुपमा लागि परेको शाखा प्रमुख सापकोटाले जानकारी दिइन् । नगर स्वास्थ्य शाखा प्रमुख सापकोटाका अनुसार गत आर्थिक वर्ष २०७८ ÷०७९ मा ७६ प्रतिशत र गत आर्थिक वर्ष २०७९÷०८० मा ८१ प्रतिशत नगरवासीले यो औषधि सेवन गरेका थिए । नगरका १५ वटा वडामा सवैभन्दा बढी वडा नम्बर १४ का ९६ प्रतिशतले यो औषधि सेवन गरेका थिए । वडा नम्बर ६ मा ७१ प्रतिशतले मात्र गत वर्ष हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गरेको अभिलेख छ । वडा नम्बर १ मा ८९ प्रतिशत, २ मा ८४ प्रतिशत, ३ मा ७९ प्रतिशत, ४ मा ७५ प्रतिशत, ७ मा ७० प्रतिशत, ८ मा ८७ प्रतिशत, ९ मा ७५ प्रतिशत, १० मा ७६ प्रतिशत, ११ मा ८६ प्रतिशत, १२ मा ८७ प्रतिशत, १३ मा ६८ प्रतिशत र १५ मा ८२ प्रतिशतलाई यो औषधि खुवाइएको थियो । यो अभियानअन्तर्गत नगरभित्रका शतप्रतिशत मानिसलाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अपेक्षा गरिएको छ ।

कम्तिमा कुल जनसंख्याको ९५ प्रतिशत मानिसलाई यो औषधि खुवाउन सके केही हदसम्म अभियान सफल भएको मानिने छ । हात्तीपाइले रोगको निवारणमा चुनौती र जोखिम भनेकै हात्तीपाइले रोग विरुद्धको औषधि प्रत्येक मानिसले सेवन नगर्नु र यसका विषयमा हुने अनर्गल प्रचार नै भएको स्वास्थ्य शाखाका सहसंयोजक पुजन अधिकारी बताउँछिन् । हात्तीपाइले रोगलाई हाम्रो समुदायबाट हटाउनका लागि यो औषधि सेवन गर्नु बाहेक अर्काे विकल्प नरहेको यसको नियन्त्रण तथा रोकथामको पहिलो उपचार नै हरेक नागरिकले आफूले निर्धक्करुपमा औषधि सेवन गर्नु र अरुलाई पनि सेवन गराउनु पर्ने भएको उनको भनाई छ । हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गर्नै अभियानक क्रममा नकारात्मक हल्लालाई कार्यक्रममार्फत सकरात्मक धारणामा परिवर्तन गर्न सकिने शाखा संयोजक सापकोटाले बताइन् । उनले नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुलाई औषधि खुवाएर कार्यक्रमको शुभारम्भ गरिने जानकारी दिइन् ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक वर्ष हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान सञ्चालन गदैं आएको भएपनि सम्भ्रान्त र हुनेखाने परिवारका सदस्यले नै यो औषधि नखाइदिँदा रोग निवारणमा चुनौती छ । यस रोगको जीवाणु शरीरमा प्रवेश गरेको १० देखि १५ बर्ष पछि मात्रै यसका लक्षण देखिने भएकाले मानिसले औषधिलाई बेवास्ता गर्न नहुने सहसंयोजक अधिकारीको भनाई छ । दुइ वर्ष मुनिका बालबालिका, गर्भवती, सुत्केरी, दीर्घरोगी र अन्य रोगको औषधि खाइरहेका विरामीले हात्तीपाइले रोगको औषधि खान नहुने र अभियानमा खटिएका स्वास्थ्यकर्मी तथा स्वयम्सेविकाले पनि यस्ता व्यक्तिलाई औषधि सेवन गराउन नहुने भन्दैं उनले भनिन् ‘हात्तीपाइले रोगको एउटै उपाय भनेको औषधि सेवन नै हो तर, यो औषधि खाना खाएको दुई घण्टाभित्रमा सेवन गर्नुपर्छ ।’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्