झापा,बैशाख १० । कक्षा ११ र १२ मा अध्ययनरत झापा बाह्रदशीका मुस्लिम छात्रालाई साइकल वितरण गरिएको छ।

बाह्रदशी गाउँपालिकाभित्र सरकारी विद्यालय अध्ययन गर्दै आएका करिब ५० जना छात्रालाई साइकल वितरण गरिएको हो। नेपाल मुस्लिम समाज विकास समिति बाह्रदशीको आयोजना तथा बाह्रदशी गाउँपालिकाको आर्थिक सहयोगमा विद्यालय जान असहज भएकै कारण धेरै मुस्लिम विद्यार्थीहरुले बिचैमा पढाइ छोड्ने गरेका कारण फुलबारी मावि, जनविकास मावि र पशुपति माविमा अध्ययनरत छात्राहरूलाई विद्यालय आवतजावत गर्न सहज होस् भनेर साइकल वितरण गरिएको मुस्लिम समाज विकास समितिका अध्यक्ष चान महम्मद हुसेनले बताए । मदरसा दारूल उलुम बाह्रदशीको प्राङ्गणमा आयोजित कार्यक्रममा नयाँ बर्ष २०८१ को अवसरमा शुभकामना आदानप्रदानसंगै आपसमा टोपी साटासाट गरेर ईद मिलन कार्यक्रमसमेत गरिएको थियो।

बाह्रदशी मुस्लिम समाज विकास समितिका अध्यक्ष चान महम्मद हुसेनको अध्यक्षता तथा झापा क्षेत्र नं ३ प्रदेश सभा ‘ख’ का सांसद छबिलाल चुडालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बाह्रदशी मुस्लिम समाज विकास समितिका सल्लाहकार मास्टर नसरूल्लाह मुनादीले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश सांसद चुडालले सरकारी विद्यालयमा पढ्ने विद्यार्थी हरेक कुरामा सक्षम रहने धारणा राख्दै शिक्षाको गुणस्तर विकास गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै वडा नम्बर ४ का वडाध्यक्ष महताव आलमले उचित शिक्षाको अभावमा युवाहरू लागूपदार्थ र कुलतको दलदलमा फस्दै गएको बताए। मेचीनगर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले आफू फरक भूगोलको रहेपनि समस्या साझा भएकाले त्यसको समाधानका लागि आपसमा मिलेर अघि बढ्नु पर्ने बताउँदै बाह्रदशी ४ का वडाध्यक्ष आलमलाई उपहारस्वरूप स्थानीय उत्पादन बाँसबाट निर्मित बाँसुरी प्रदान गरे । कार्यक्रममा मुस्लिम समुदायका अगुवा मर्गुव आलमले आफ्नो स्रोतको भरपूर सदुपयोग गरी युवाहरू प्रतिस्पर्धामा सक्षम बन्नुपर्ने बिचार व्यक्त गरे । कार्यक्रममा बोल्दै सामाजिक व्यक्तित्व भगिरथ पोद्धारले सबै राजनीति दल एकजुट भएर समग्र विकास गर्नुपर्ने बताउँदै नजिकका पालिकाको तुलनामा बाह्रदशीले विकास गर्न नसकेको आरोप लगाए।

कार्यक्रममा रेडक्रस सोसाइटी चकचकी उपशाखा अध्यक्ष दयानन्द गोस्वामीले विकास समयसापेक्ष रहने बताउँदै विकास क्षणभरमै हुने भन्ने कुरा नहुने बताए। कार्यक्रममा बाह्रदशी गाउँपालिका अध्यक्ष देविन्द्रप्रसाद चम्लागाई, उपाध्यक्ष शान्ता खरेल, प्रमुख प्रशासकीय अधिकृत जनार्दन निरौला, सशस्त्र प्रहरीका डिएसपी प्रवास गौतम, वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, सुरक्षाकर्मी, स्थानीय बुद्धिजीवी, विद्यार्थी र सर्वसाधारणको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्